हेटौंडाः मकवानपुर प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उच्च अदालत हेटौंडा, जिल्ला अदालत मकवानपुर र जिल्ला अदालत चितवनको फरक–फरक फैसलाले जरिवाना र रकम भुक्तानी गर्न बाँकी रही फरार रहेका ४ जनालाई फरक–फरक स्थानबाट मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन हेटौंडाको फैसलाले बैंकिङ कसुरमा १० दिन कैद र चार लाख आठ हजार दुई सय ५० रुपैयाँ जरिवाना भुक्तानी नगरी फरार रहेका राक्सिराङ–५ की कौशिमाया स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्याङ्तानलाई राक्सिराङ–५ बाट पक्राउ गरिएको जनाएको छ । स्याङ्तनलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै जिल्ला अदालत मकवानपुर र उच्च अदालत पाटन हेटौंडा इजलासको फैसलाले वन मुद्दामा तीन लाख ५७ हजार छ सय ४० रुपैयाँ जरिवाना भुक्तानी नगरी फरार रहेका प्रतिवादी बकैया–६ की गंगा लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–५ बाट पक्राउ गरेको हो । पक्राउ परेको लामालाई उक्त जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना भुक्तानी नगरी फरार रहेकोे बकैया–३ का शिव बहादुर खुलाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बकैया–३ बाट पक्राउ गरेको होे । पक्राउ परेको खुलाललाई उक्त जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
जिल्ला अदालत चितवनको फैसलाले सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना भुक्तानी नगरी फरार रहेका हेटौंडा–७ का दशरथ अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौंडा–७ बाट पक्राउ गरेको हो । पक्राउ परेको अर्याललाई जरिवाना भुक्तानीका जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।