हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा बालबालिका तथा किशोरकिशोरीहरुका लागि मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ । कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सा इकाई, सिविन नेपाल र बकैया गाउँपालिकाको संयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रम भएको हो ।
बालबालिका, किशोरकिशोरीहरुमा कोभिड–१९ का कारणले देखिएको समस्या तथा आत्महत्या गर्नेको संख्या बढिरहेकाले बालबालिका तथा किशोरकिशोरीहरुलाई यस विषयमा जानकार तथा सचेतीकरण गराउने विषयमा कार्यक्रम आयोजना गरिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्य, मानिसमा मानसिक समस्या देखा पर्नुको कारण तथा आत्महत्याको विषयमा कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. गुञ्जन धन्जु र चिकित्साविद् रामपुकार साहले सहजीकरण गर्नु भएको थियो ।
समाजमा लागूऔषधको प्रयोग, आर्थिक विपन्नता, यौन शोषण, असमझदारी, परिक्षाको नतिजा अपेक्षाकृत नहुनु, प्राकृतिक प्रकोप, बालविवाह, बालबालिका माथि हुने गरेको विभेद तथा हिंसा आदि कारणले आत्महत्या बढिरहेको भन्दै कार्यक्रममा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । डा. गुञ्जन धन्जुले मानिसहरुले विशेषगरी खानपान, निद्रा र दिनचर्या राम्रोसँग नभएको अवस्थामा मानसिक समस्या बढ्ने बताउनुभयो । पछिल्लो समय बालबालिकाहरुमा बोल्न शुरु गर्नु पर्ने उमेरमा राम्रोसँग नबोल्ने, एकोहोरो हुने, छिटो रिसाउने, झर्किने आदि समस्या देखा पर्न थालेको पनि उहाँले जानकारी दिनुभयो ।
यस किसिमको समस्या बालबालिकामा आउन नदिन ६ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई मोबाइल फोनहरु दिनै नहुने सुझाव दिइएको छ । साथै ६ देखि १२ बर्ष उमेरका बालबालिकालाई दिनको १ घण्टा भन्दा बढि मोबाइल चलाउन दिन नहुने डा. धन्जुको भनाई रहेको छ । पछिल्लो समय बालबालिकालाई खाना खुवाउँदा पनि मोवाइल देखाएर खुवाउने अभिभावकहरुको बानीले गर्दा बालबालिकाहरुले खानाको स्वाद नपाउने, मोबाइलको लत बस्ने, दोहोरो संवादमा समस्या हुने आदि समस्या देखिने पनि डा. धन्जुले बताउनुभयो ।
कार्यक्रममा बकैया गाउँपालिकाका १२ वटा वडाहरु मध्ये ८ वटा वडाका बाल क्लबका प्रतिनिधि, पालिकास्तरीय बालक्लब सञ्जालका प्रतिनिधि, किशोरकिशोरी समुहका सदस्यहरु, महिला स्वयम्सेविका, शिक्षक, बालमैत्री सहजकर्ता, जनप्रतिनिधि तथा सामाजिक विकास शाखा प्रमुख सहित ४३ जनाको सहभागिता रहेको सिविन बालहेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।