हेटौंडाः विश्वभर सबैभन्दा बढी रुचाइने फुटबल खेल नेपालमा पनि उत्तिकै लोकप्रिय छ । नेपालमा सबैभन्दा बढी दर्शकको ध्यान केन्द्रित गर्ने फुटबल प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता रहेको छ । तर सबै क्लबले सहजरुपमा ‘ए’ डिभिजन लिग खेल्न भने सोचे झैं सहज पक्कै पनि छैन ।
यसका लागि लिगको ३ चरण पार गर्नुपर्ने हुन्छ । ‘ए’ डिभिजन लिग क्लबको मान्यता पाउन पहिलोपटक सहभागिता जनाउने क्लबले ‘सी’ डिभिजन लिग छनोट, ‘सी’ डिभिजन लिग र ‘बी’ डिभिजन लिगमा उत्कृष्ट टिम बन्दै अगाडि बढ्नुपर्ने हुन्छ । जुन धेरै कम टिमका लागि मात्र सम्भव छ । शहीद स्मारक लिगको प्रवेशद्वारको रुपमा रहेको ‘सी’ डिभिजन लिग छनोटमा देशभरका इच्छुक क्लबले सहभागिता जनाउन सक्नेछन् ।
नेपाली लिग फुटबलमा पहिलो खुड्किलाको रुपमा रहेको उक्त छनोट प्रतियोगिता पनि त्यति सहज भने देखिँदैन । छनोट प्रतियोगिताबाट उत्कृष्ट ३ टिमले मात्र ‘बी’ डिभिजन लिग खेल्न पाउनेछन् । यसपटक पनि ‘सी’ डिभिजन लिग छनोट उत्तिकै प्रतिस्पर्धात्मक हुने देखिएको छ । ३ टिम छनोट गर्नुपर्ने उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका २ टिमसहित देशभरका ७८ टिमको सहभागिता रहेको छ । ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल बिहीबारबाट सुरु भएको छ । हाल प्रतियोगिताका दुई चरणका खेल तालिकामात्र प्रकाशन भएका छन् ।
पहिलो चरणमा सहभागी क्लबहरुलाई २८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ३ टिम रहेका छन् भने पहिलो चरणमा प्रत्येक टिमले आफ्नो समूहका अन्य २ टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धापछि प्रत्येक समूहका उत्कृष्ट १-१ टिम गरी २८ टिममात्र दोस्रो चरणमा प्रवेश गर्नेछन् । ‘सी’ डिभिजन लिग छनोट यही भदौ १० गतेबाट सुरु हुन गइरहेको छ । तर मकवानपुरबाट सहभागिता जनाएका दुबै क्लबहरुले भने १ महिनापछि मात्र खेल्न पाउने भएका छन् ।
मकवानपुरबाट सहभागिता जनाएका एफसी विजय युथ र राप्ती रिभर युवा क्लब (आरआरवाईसी)ले छनोटको पहिलो चरणको खेल नै १ महिनापछि खेल्ने भएका छन् । खेल तालिकाको लागि भएको गोलाप्रथामा एफसी विजय युथ समूह ‘डब्लु’ र आरआरवाईसी समूह ‘एक्स’ मा रहेका छन् । प्रतियोगिताको खेल तालिकाअनुसार समूह ‘ए’ मा भएका टिमहरुबाट छनोट प्रतियोगिताको सुरुवात हुने र प्रत्येक दिन २ वटामात्र खेल हुने भएकाले पनि मकवानपुरका २ टिमको खेल्ने पालो नै १ महिनापछि आएको हो ।
खेल तालिकाअनुसार आरआरवाईसीले समूह चरणका दुई खेल असोज १० गते र १२ गते खेल्नेछ भने एफसी विजय युथले असोज १२ गते र १४ गते खेल्ने तालिका रहेको छ । यी दुई खेलपछि समूहमा रहेका ३ टिममध्ये शीर्ष स्थानमा रहन सकेमा मात्र टिमले दोस्रो चरणको यात्रा तय गर्नेछ । अन्तिम तिर परेकै
कारण मकवानपुरका दुबै टिमले दोस्रो चरणको यात्रा तय गर्न पनि १ महिना कुर्नुपर्ने हुन्छ ।
अगाडिको समूहमा रहेका क्लबले अबको केही दिनमै पहिलो चरणको खेल खेलिरहँदा मकवानपुरका दुबै टिमले पहिलो चरणको खेलको तयारीका लागि पनि थप १ महिनाको समय भने पाएको छ । यसले गर्दा टिमका खेलाडीहरुलाई पर्याप्त प्रशिक्षण गर्ने समय मिलेको छ भने टिमलाई थप मजबुद बनाउने अवसर रहेको छ । टिमका केही खेलाडी जिल्लाभन्दा बाहिरका रहेका कारण उनीहरु र टिममा नियमितरुपमा
रहेका स्थानीय खेलाडीहरुबीच आपसी तालमेल मिलाउन सहज हुने भएको एफसी विजय युथका अध्यक्ष सुदिप राजबाहकले बताउनुभयो । प्रतियोगिता सुरु भएर पनि १ महिनापछि मात्र खेल हुने भएपछि टिमलाई रणनीतिकरुपले समेत बलियो बनाउन समय मिलेको उहाँको भनाई छ ।
हाल प्रतियोगिताका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरुमध्ये ७ जना खेलाडीहरु बाहिरी जिल्लाका रहेकाले थप १ महिनासम्म खेलाडीहरुलाई खाने र बस्ने व्यवस्था गर्नुपरे पनि ती खेलाडी र क्लबका नियमित खेलाडीहरुबीचको तालमेल मिलाउन तथा प्रशिक्षण गर्न समय प्राप्त भएकोमा अध्यक्ष राजबाहकले खुसी व्यक्त गर्नुभयो । क्लबलाई छनोट चरण पार गराएर ‘सी’ डिभिजन लिग प्रतियोगिता खेल्ने लक्ष्यका साथ अघि बढेको जनाउनुहुँदै उहाँले प्रशिक्षणका लागि प्राप्त १ महिना समयले हौसला बढेको बताउनुभयो ।
टिममा २३ खेलाडी समावेश गर्नुपर्ने भएपनि लामो समयपछि मात्र खेल्ने पालो आउँदा प्रशिक्षणका क्रममा खेलाडीहरुमा चोट आउनसक्ने सम्भावनालाई मध्येनजर गर्दै हाल एन्फामा १८ जनामात्र खेलाडीको नाम राखेर पठाइएको तथा बाँकी खेलाडीहरुलाई बैकल्पिक खेलाडीका रुपमा राखेर प्रशिक्षण भइरहेको क्लबका प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिनुभयो । एफसी विजय युथमा मकवानपुरमा नाम चलेका क्लबका नियमित खेलाडी आकाश कटुवालसहित अनिल थापा मगर, सुजन खड्गी, विवेक गुरुङ, सफल तिमल्सिना लगायतका खेलाडीहरुले आफ्नो खेल पस्कनेछन् ।
एफसी विजय युथले समूह चरणमा पहिलो खेल काठमाडौं उपत्यकाकै टिम भ्याली इगल क्लब र दोस्रो खेल सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको इराहिटी रानीवनसँग खेल्नेछ । यी दुबै क्लबहरु आ–आफ्नो क्षेत्रमा उत्कृष्ट भएको जानकारीमा आएकाले क्लबले अझ बढी प्रशिक्षणका साथ प्रतिस्पर्धा गर्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो । आफ्नो टिम पनि राम्रो भएको भएपनि खेलमा के हुन्छ भनेर भन्न नसकिने भएकाले विपक्षी टिमलाई कमजोर ठान्न नहुने उहाँको भनाई रहेको छ ।
आफ्नो टिमको खेल १ महिनापछि पर्ने भएपनि गोलाप्रथाबाट खेल तालिका सार्वजनिक भएकाले यसमा असन्तुष्टि नरहेको आरआरवाईसीका अध्यक्ष रेशम जमकट्टेलले बताउनुभयो । बाहिरी जिल्लाका खेलाडीहरुलाई थप १ महिनाको लागि खान र बस्न व्यवस्था गर्दा खर्च बढ्ने भएपनि नियम सबैका लागि भएकाले आफ्नो क्लबको पालो ढिलो आयो भन्दैमा रिसाउन नहुने उहाँको भनाई छ । १ महिना अगाडिदेखि नै टिम बनाएर प्रशिक्षण गरिरहेका कारण सुरुमै खेल्न पालो आएको भएपनि टिम तयार रहेको जनाउनुहुँदै उहाँले पछि पालो आउँदा थप एक महिना प्रशिक्षण गरी टिमलाई अझै राम्रो बनाएर लैजाने उहाँले बताउनुभयो ।
लगभग ६-७ जना बाहिरी जिल्लाका खेलाडी समावेश गरेको आरआरवाईसीले चितवन, वीरगञ्ज, रौतहट, मुग्लिनलगायतका स्थानका खेलाडीहरुलाई टिममा समावेश गराएको छ । खेलाडीहरुलाई होटलमै राखेर प्रशिक्षण गराइरहँदा दैनिक १० हजार रुपैयाँसम्म खर्च हुने गरेको क्लबका अध्यक्ष जमकट्टेलले जानकारी दिनुभयो । हालसम्म लगभग ४ लाख रुपैयाँ आर्थिक संकलनका साथै केही रकम खर्च भइसकेको र हाल साथीभाइहरुबाट नै आर्थिक संकलन गरेर खर्च व्यवस्थापन भइरहेको पनि उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउनका लागि मनहरी गाउँपालिका र वडा कार्यालयहरुलाई पनि आर्थिक सहयोगका लागि अनुरोध गर्ने तयारी रहेको उहाँको भनाई छ ।
क्लबले प्रतियोगिता अवधिभरका लागि प्रशिक्षकका रुपमा ज्ञानु क्षेत्रीलाई समेत नियुक्ति गरिसकेको छ भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको जनाइएको छ । क्लबमा गगन सिलवाल, छिरिङ लामा, सुनिल सुनार, विजय विक, मनोज लामा, असिम गुरुङ, अविनाश खड्कालगायतका खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । खेल तालिकाअनुसार प्रतियोगितामा पहिलो चरणको खेलअन्तर्गत् क्लबले पहिलो खेलमा चौतारा स्पोर्टि· क्लब सिन्धुपाल्चोक र दोस्रो खेलमा रानीवन स्पोर्टस क्लब
बाजुरासँग प्रतिस्पर्धा गर्नेछ ।