हेटौंडा–१० स्थित फरेष्ट्री चौरमा प्रशिक्षण गर्दै झापा एफसीका फुुटबल खेलाडीहरु ।

हेटौंडाः प्रदेश नम्बर १ को झापा एफसीले बागमती प्रदेशको राजधानी हेटौंडामा आएर ‘क्लोज क्याम्प’ सुरु गरेको छ । ‘सी’ डिभिजन लिग छनोटमा पहिलोपल्ट सहभागिता जनाउन लागेको झापा एफसीले आफ्नो खेलभन्दा अगाडि हेटौंडामा रहेर बन्द प्रशिक्षण गरेको हो ।

हेटौंडा र काठमाडौंको वातावरण मिल्दोजुल्दो भएकाले खेलाडीहरुलाई सोहीअनुसारको हावापानीमा घुलमिल गराउन हेटौंडा ल्याइएको क्लबका जेनेरल सेक्रेटरी सुजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार खेलाडीहरुले २ हप्ताको समय हेटौंडामा बन्द प्रशिक्षणमा बिताउनेछन् ।

भदौं १० गतेबाट सुरु भएको छनोट प्रतियोगितामा आफ्नो टिमले भदौ २५ गते खेल्ने भएकाले सो समयसम्मका लागि हेटौंडामा रहेर प्रशिक्षण गराइने गौतमले बताउनुभयो । बन्द प्रशिक्षणका क्रममा ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाएको मकवानपुरको एफसी विजय युथसँग मैत्रीपूर्ण खेल खेल्ने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

भदौ ६ गते हेटौंडा आएर बन्द प्रशिक्षण सुरु गरेको झापा एफसी भदौ २० गतेसम्म हेटौंडामै रहने जनाइएको छ । हेटौंडाबाट काठमाडौं जान सहज भएकाले गर्दा पनि खेलाडीहरुलाई एकैपटक लामो यात्रा गराउन नपर्ने गौतमले बताउनुभयो । नेपालमै पहिलो प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको झापा एफसीले हाल १८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको छ । प्रशिक्षणका क्रममा स्थानीय खेलाडीहरु पनि सहभागी भइरहेको र अन्तिम छनोटको समयमा कोही राम्रो खेलाडी भएमा उसको सहमतिमा उक्त खेलाडीलाई टिममा समावेश गराएर छनोट प्रतियोगितामा जाने उहाँले जानकारी दिनुभयो ।

मकवानपुर जिल्ला फुटबल संघसँगको सल्लाहपछि खेलाडीहरुलाई हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको चौरमा प्रशिक्षण भइरहेको जनाइएको छ । हाल कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै खेलाडीहरुलाई होटलबाट चौरसम्म ल्याउने लैजाने व्यवस्था गरी सो बाहेक बाहिर हिँड्न बन्देज लगाइएको क्लबले जनाएको छ । साथै खेलाडीहरुलाई १-२ दिन भित्रमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने तयारी समेत भइरहेको टिम व्यवस्थापक अविनाश राजवंशीले जानकारी दिनुभयो ।

एफसी लाइसेन्स प्राप्त प्रशिक्षक सचिन्द्र धिमालको प्रशिक्षणमा खेलाडीहरुलाई ट्रेनिङ किट, प्लेइङ किट र ट्राभल किटसहितको व्यवस्था गरेको क्लबले खेलाडीसहित प्रशिक्षक तथा व्यवस्थापकहरुलाई हेटौंडामा खान तथा बस्नका लागि दैनिक २० देखि २५ हजार रुपैयाँ खर्च हुने गरेको क्लबले जनाएको छ । झापामा फुटबलको ग्रासरुटबाट विकास गर्न अग्रसर यस क्लबले नेपाल सुपर लिगको क्लब एफसी चितवनसँग सहकार्य गर्दै आएको छ भने आर्थिक व्यवस्थापनका लागि क्लबलाई आईएमईले प्रायोजन गरेको जनरल सेक्रेटरी गौतमले जानकारी दिनुभयो ।