नेपाल मानव अधिकार संगठन मकवानपुरको बार्षीक साधारणसभामा सहभागिहरु ।

हेटौंडाः छायादेवी स्मृति सम्मान २०७८ बाट सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वआयुक्त डा. मानवी भट्ट शनिबार हेटौंडामा सम्मानित हुनुभएको छ । नेपाल मानव अधिकार संगठन मकवानपुरको वार्षिक साधारणसभाको अवसरमा डा. भट्टलाई सम्मान गरिएको हो ।

भट्टलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र खादा ओढाएर सम्मान गरिएको छ । साधारणसभाको अवसरमा मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको प्रभाव विषयक अन्तरसम्वादसमेत गरिएको थियो ।

संगठनका मकवानपुर अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्यको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इन्द्र नेपाल, कानुन व्यावसायी कृष्णप्रसाद अर्याल, इन्सेक प्रतिनिधि गणेश भण्डारीलागाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संगठनका अध्यक्ष बस्नेतले मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको असरका बारेमा कार्यपत्र तथा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शर्मिला श्रेष्ठले आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।