हेटौंडाः मकवानपुर जिल्लाका झण्डै ७५ हजार जनाले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार हालसम्म जिल्लाका ७४ हजार ८ सय ७९ जनाले कोरोनाविरुद्धको कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन तथा एस्ट्राजेनेका खोप लगाएका छन् ।
भेरोसेलको पहिलो मात्राको खोप ६३ हजार ८ सय ४८ जनाले र भेरोसेलको दोस्रो मात्राको खोप २९ हजार २ सय ५४ जनाले, कोभिडसिल्डको पहिलो मात्राको खोप २१ हजार ८ सय ५५ जनाले र कोभिसिल्ड दोस्रो मात्राको खोप २१ हजार ६ सय ९९ जनाले लगाएका छन् । यस्तै कोरोना भाइरसविरुद्धको अमेरिकाबाट आएको एक मात्रामात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २३ हजार ९ सय १६ जनाले लगाइसकेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
अनलाइन फर्म भरेका ७८ हजार १ सय १५ जनामध्ये हालसम्म ३३ हजार ५ सय ४२ जनाले खोप लगाएका छन् । अनलाइन फर्म भरेर खोप लगाउन छुटेकालाई पनि खोप लगाउँदै जाने पनि घिमिरेले जानकारी दिनुभयो । यस्तै मंगलबार पनि मकवानपुर जिल्लाका सबै पालिकाहरुमा खोप लगाउने कार्यक्रम भइरहेको र कुनै पालिकामा भने वर्षाका कारण खोप कार्यक्रम प्रभावित भएको घिमिरेले जानकारी दिनुभयो ।