हेटौंडाः शोकमा रहेका परिवारले दिवंगत व्यक्तिको आत्माको शान्तिका लागि साथै शोकलाई शक्तिमा बदल्न मनाउने गाईजात्रा पर्वलाई यस वर्ष व्यवस्थित रुपमा आयोजना गरिने भएको छ । हेटौंडामा सामूहिक गाईजात्रा पर्वलाई व्यवस्थित गरी आयोजना गरिने नेवा साँकृतिक पुचः का अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ ।
आगामी सोमबार गाईजात्रा पर्व मनाइँदै छ । हरेक बर्ष सामूहिक गाईजात्रा पर्व मनाउँदै आएको जानकारी गराउनुहुँदै कोरोना महामारीका बेला भीडभाड गर्न नमिल्ने परिस्थितिलाई मध्यनजर गर्दै व्यवस्थित रुपमा गाईजात्रा निकालिने अध्यक्ष महर्जनले बताउनुभएको छ । गत बर्ष पनि सतर्कताका साथ गाईजात्रा पर्व मनाइएको स्मरण गर्नुहुँदै यस बर्ष अझै व्यवस्थित गरिने उहाँले बताउनुभयो । हेटौंडा–२, मेनरोडस्थित कृष्णमन्दिरबाट सामूहिक गाईजात्रा निकालेर नगर परिक्रमा गर्दै हेटौंडा–१० स्थित भुटनदेवी माविमा पुगेर समापन गरिनेछ । गाईजात्रा पर्वमा लाखे नाचसँगै धिमे बाजाको टोली पनि सहभागी हुनेछ ।
यसैबीच सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समुदायलाई गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो । यसपटक भने भदौ ७ गते गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले पनि बिदा दिने निर्णय गरेको हो । बिहीबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत पेसल पाखरेलले सोमबार बिदा दिएको सूचना जारी गर्नुभएको हो ।