संघदेखि प्रदेशमा प्रचण्ड बहुमतसहित साढे तीन वर्ष देशको बागडोर सम्हालेको नेकपा एमाले यतिबेला विस्तारै सत्ताच्यूत हुँदै गएको छ । लामो समयदेखिको राजनीतिक अस्थिरताबाट वाक्क भएका नागरिकले स्थायित्वका लागि भन्दै बामगठबन्धनलाई प्रष्ट बहुमत दिएका थिए । तर नेतृत्वबीचको सत्ता छिनाझपटीकै कारण आज बामपन्थी सत्ता बिस्तारै कमजोर भएको छ । अझ एमालेको सत्ता सुखभोग सकिँदै गएको छ । चारवटा प्रदेशसहित केन्द्रीय सरकारको नेतृत्व गर्दै आएको एमाले अहिले अब दुईवटा प्रदेशमा खुम्चिएको छ । राजनीतिक अवस्था हेर्दा बाँकी प्रदेशबाट पनि एमालेको नेतृत्व विस्थापित हुन सक्नेछ । जनमत पाए पनि सही नेतृत्व दिन नसक्दा कसरी सत्ताच्यूत हुनुपर्दछ भन्ने उदाहरण नेकपा एमाले विम्ब बनेको छ ।

म नै दल, म नै नेता र म नै राज्यको चिन्तनबाट अभिप्रेरित हुँदै गर्दा एमाले अध्यक्ष ओलीका विरुद्ध आफ्नै दलभित्रबाट बिरोधमात्र भएन, सत्ता नै गुमेको छ । सत्तामात्र गएको हैन कि, दलसमेत विभाजन हुनपुगेको छ । नेकपामात्र हैन, एमालेसमेत फुट्दा पार्टी अध्यक्ष ओली कमजोर भएको अवस्था छ । नेतृत्वमा हुर्कंदै गएको गलत प्रवृत्तिको बिरोध गर्ने क्षमता कार्यकर्तामा नहुने हो भने त्यो पार्टीमा लोकतान्त्रिक संस्कृति अन्त्य हुनेछ । त्यतिबेला दलभित्र नेतृत्वको आदेश पालना गर्नेहरुमात्र बाँकी हुनेछन् । लोकतान्त्रिक विधिअनुसार पार्टी सञ्चालनका लागि दलभित्रको फरक विचारलाई सम्मान गर्न सक्नुपर्दछ ।विवादकै बीच बागमती प्रदेशमा साढे तीन वर्षदेखि मुख्यमन्त्री रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन् ।

काम गर्न नसकेर वा केन्द्रको दवाबले राजीनामा दिन बाध्य भएको भन्ने एकथरिको तर्क छ भने एकथरिले ठूलो त्याग गरेको भन्दै उदाहरणका रुपमा लिएका छन् । नागरिकको दृष्टिकोणबाट पौडेल नेतृत्वको सरकारले ठूलो काम गर्न सकेन र बिगार्ने काम पनि नगरेकै हो । मकवानपुरका लागि पौडेलको नेतृत्व सकारात्मक नै थियो । पार्टीभित्रको एकता कायम राख्नकै लागि उनले पद छाडेका हुन् भने त्यो केन्द्रीय नेतृत्वका लागि शिक्षा हो । आज डोरमणि पौडेललाई पदत्याग गर्न सुझाव दिने केपी ओली आफूले पनि यस्तै गरेको भए एमालेमात्र हैन, नेकपा नै विभक्त हुने थिएन ।

बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ । तर पार्टीभित्रको विवादले मुख्यमन्त्रीलाई लामो समयदेखि काम गर्न मुस्किल हुँदै आएको यथार्थ हो । केन्द्रमा एमाले विभाजन भएपछि प्रदेशहरुमा पनि त्यसको असर पर्नु स्वभाविक हो । जसले गर्दा बागमती प्रदेशमा ओली पक्षको सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि आफैंले अस्वीकार गरेकी पात्र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष ओली सहमत भएको देखिन्छ । प्रदेशको सरकार आफूपक्षीय कायम राख्न चलाखीपूर्ण तरिकाबाट नेतृत्व परिवर्तन गराउने काम भएको छ । यसले प्रदेश संसदीय दलमा एमालेभित्र विभाजन नहुने अपेक्षा ओली पक्षको तर्क छ । रणनीतिअन्तर्गत् मुख्यमन्त्रीबाट पौडेललाई छोड्न लगाइएको हो । प्रदेशसभामा पार्टी एकताका लागि यो रणनीति गर्नेले केन्द्रीय नेतृत्वमा पनि यही नीति लिएको भए अझै उत्तम हुनेथियो ।