हेटौंडाः नेवा साँस्कृतिक पुचःले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सगुन दिएको छ । नेवारी समुदायमा शुभेच्छा प्रकट गर्दै सगुन दिने संस्कार छ । बुधबार मात्रै मुख्मयन्त्री नियुक्त हुनुभएकी शाक्यलाई नेवा साँकृतिक पुचःले हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा नेवारी परम्पराअनुसार टिका लगाइदिएर सगुन दिएको हो ।
नेवा साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा सगुन ग्रहण गर्नुहुँदै नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाली समाज जाति, धर्म र सम्प्रदायको साझा फुलबारी भएको उल्लेख गर्नुहुँदै प्रदेश सरकार जाति, धर्म र सम्प्रदायका सकारात्मक आस्था र संस्कारको संरक्षण गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले मौलिक संस्कृति नेपाली समाजकै साझा सम्पत्ति भएको पनि बताउनुभयो ।
सगुन कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री केशव राज पाण्डेको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेवा साँकृतिक पुचः का अध्यक्ष विष्णुगोपाल महर्जनले राजनीतिक अस्थिरता र कोरोना महामारीका बीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको कार्यकालको सफलताको शुभकामनाका लागि सगुन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।