Home मुख्य समाचार सामुहिक गाईजात्रा पर्व व्यवस्थित गरिने, गाईजात्रा पर्वमा विदा दिने निर्णय

सामुहिक गाईजात्रा पर्व व्यवस्थित गरिने, गाईजात्रा पर्वमा विदा दिने निर्णय

हेटौंडाः शोकमा रहेका परिवारले दिवंगत व्यक्तिको आत्माको शान्तिका लागि साथै शोकलाई शक्तिमा बदल्न मनाउने गाईजात्रा पर्वलाई यस वर्ष व्यवस्थित रुपमा आयोजना गरिने भएको छ । हेटौंडामा सामूहिक गाईजात्रा पर्वलाई व्यवस्थित गरी आयोजना गरिने नेवा साँकृतिक पुचः का अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ ।

आगामी सोमबार गाईजात्रा पर्व मनाइँदै छ । हरेक बर्ष सामूहिक गाईजात्रा पर्व मनाउँदै आएको जानकारी गराउनुहुँदै कोरोना महामारीका बेला भीडभाड गर्न नमिल्ने परिस्थितिलाई मध्यनजर गर्दै व्यवस्थित रुपमा गाईजात्रा निकालिने अध्यक्ष महर्जनले बताउनुभएको छ । गत बर्ष पनि सतर्कताका साथ गाईजात्रा पर्व मनाइएको स्मरण गर्नुहुँदै यस बर्ष अझै व्यवस्थित गरिने उहाँले बताउनुभयो । हेटौंडा–२, मेनरोडस्थित कृष्णमन्दिरबाट सामूहिक गाईजात्रा निकालेर नगर परिक्रमा गर्दै हेटौंडा–१० स्थित भुटनदेवी माविमा पुगेर समापन गरिनेछ । गाईजात्रा पर्वमा लाखे नाचसँगै धिमे बाजाको टोली पनि सहभागी हुनेछ ।

यसैबीच सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समुदायलाई गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो । यसपटक भने भदौ ७ गते गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले पनि बिदा दिने निर्णय गरेको हो । बिहीबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत पेसल पाखरेलले सोमबार बिदा दिएको सूचना जारी गर्नुभएको हो ।



Exit mobile version