हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक बर्षका लागि मातहतका १४ वटा कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन सम्झौता गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
एक बर्षे कार्य अवधी रहेको कार्य सम्पादन सम्झौताले निर्धारण गरेका सूचकहरुको मासिक मूल्यांकन गरी मातहत कार्यालयहरुको कार्य सम्पादनको स्तर समेत निर्धारण गरिने छ । सोमबार भिडियो कन्फ्रेन्स मार्फत आयोजना गरीएको ‘कार्य सम्पादन सम्झौता एवम् मासिक मूल्यांकन मापदण्डको शुभारम्भ’ कार्यक्रम मार्फत यस बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयहरुस“ग कार्य सम्पादन सम्झौता गरिएको हो ।
प्रहरीको प्रशासनिक कार्यका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध रोकथाम तथा नियन्त्रण लगायतका कार्यहरुको व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यावसायिक बनाउने उद्देश्यले मातहतका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन करार गरिएको हो । प्रत्येक प्रहरी कार्यालयहरुलाई कार्य सम्पादनको सूचक निर्धारण गरी सम्झौता गर्ने कार्यालयहरुले सम्पादन गरेका कार्यहरुको मासिक मूल्यांकन गर्ने मापदण्ड समेत शुभारम्भ गरिएको छ ।
शान्ति सुरक्षा, बिपद् व्यवस्थापन, अपराध अनुसन्धान एवम् नियन्त्रण, आन्तरिक व्यवस्थापनका साथै प्रहरी कर्मचारीहरु दक्षता एवम् उत्प्रेरणा अभिबृद्धि र प्रहरी सेवा प्रवाहसँग सम्बन्धित विषयहरुलाई प्रमुख लक्ष्य निर्धारण गरी सो अन्तर्गतका सम्पादन गर्नुपर्ने कार्य सूचक निर्धारण गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक बर्षदेखि शुरुवात गरेको कार्य सम्पादन सम्झौता र मातहत कार्यालयको मासिक मुल्याङकन प्रणालीलाई यस बर्ष थप परिमार्जन र बस्तुनिष्ठ बनाउँदै कार्य सम्पादन सूचकहरु निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।