हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले नेतृत्व गर्ने व्यक्तिले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवापनुरको छैठौं जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको १३ जिल्ला मध्ये उत्कृष्ट काम गरेको बताउनुभयो । अन्य जिल्ला समन्वय समितिहरु भन्दा मकवानपुरको नेतृत्व राम्रो रहेको बताउनुभयो । समन्वय, सहजीकरण गर्न, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग जिसस मकवानपुर अब्बल रहेको मुख्यमन्त्री पौडेलको भनाई छ ।

मुख्यमन्त्री पौडेलले अहिले जताततै स्थानीय सरकारमा अध्यक्षले उपाध्यक्षलाई काम गर्न दिएन, मेयरले उपमेयरलाई काम गर्न दिएन भन्ने गुनासो भएको भन्दै आफुसँग भएको अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा अध्यक्षले भन्दा उपाध्यक्षलाई बढी अधिकार भएको भन्दै मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभयो ।