हेटौंडाः बागमती प्रदेशको १३ जिल्लाका ११ लाख १५ हजार ७ सय ४९ जना नागरिकहरुले कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाएका छन् । यो भेरोसेलको पहिलो डोज लगाउनेको संख्या भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरषोत्तम सेढाईले बताउनुभयो । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएका ११ लाखमध्ये ४ लाख ४६ हजार ७ सय ८८ जनाले दोस्रो डोज सोमबारसम्म लगाएका छन् ।
नेपालमा कोभिडविरुद्ध भारतीय खोप कोभिशिल्ड सर्वप्रथम माघ १४ गतेबाट लगाउन सुरु भएको थियो । कोभिशिल्डपछि चिनियाँ खोप भेरोसेल र अहिले अमेरिकन खोप जनसन लगाउन सुरु गरिएको छ । कोभिशिल्ड र जनसन खोपभन्दा चिनियाँ खोप लगाउन धेरैले चासो देखाएका हुन् । त्यसो त चिनियाँ खोप बढी आयात हुँदा भेरोसेल खोप लगाउनेको संख्या प्रदेशमा बढी भएको प्रवक्ता सेढाईले बताउनुभयो ।
बागमती प्रदेशमा हालसम्म २ लाख ७८ हजार ३६ जनाले अमेरिकन खोप जनसनको पहिलो डोज लगाएका छन् । यो खोपको एक डोजमात्रै लगाए हुन्छ । यस्तै कोभिशिल्डको पहिलो डोज प्रदेशको ३ लाख ९६ हजार ४ सय ३९ जनाले लगाएका छन् । उनीहरुमध्ये १ लाख ६० हजार ४ सय ९० जनाले कोभिशिल्डको दोस्रो डोज लगाइसकेका छन् । बाँकीले भने कोभिशिल्ड नआउँदा दोस्रो डोजको खोप लगाउन पाएका छैनन् ।
बागमती प्रदेशको उपत्यकाका ३ जिल्लामा सबैभन्दा धेरैले खोपको सुविधा लिएका छन् । नेपाल सरकारले निःशुल्करुपमा १८ वर्षमाथिका नागरिकहरुलाई कोभिशिल्ड, भेरोसेल र जनसन खोप लगाउँदै आएको छ । काठमाडौंमा १ लाख ५७ हजार १ सय ५८ जनाले भारतीय खोप कोभिशिल्डको पहिलो डोज लगाएकोमा ८९ हजार ८ सय ९४ जनाले मात्रै दोस्रो डोज लगाएका छन् । यस्तै काठमाडौंमा ५ लाख ६७ हजार ५ सय ५५ जनाले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकोमा २ लाख ४४ हजार ६ सय ५० जनाले दोस्रो डोज लगाएका छन् । अमेरिकन खोप जनसन भने काठमाडौंमा १ लाख २८ हजार ९ सय ४० जनाले लगाएका छन् ।
मकवानपुरमा २१ हजार ९६ जनाले भारतीय खोपको पहिलो डोज लगाएकोमा ५ हजार ९ सय ५५ जनाले मात्रै दोस्रो डोज लगाएका छन् । अन्यले भने खोप लगाउन पाएका छैनन् । यस्तै चिनियाँ खोप २३ हजार १९ र अमेरिकन खोप जनसन ५ हजार ३ सय २४ जनाले लगाइसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । खोप लगाउने कार्यलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले चालु वर्षमा प्रदेशका नागरिकलाई खोप लगाउन २ अर्ब बजेटसमेत विनियोजन गरेको छ । प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रमअन्तर्गत् सो रकम खर्च हुने जनाइएको छ । तर चालु वर्षको हालसम्म पनि खोप खरिद गर्ने विषयमा प्रदेश सरकार भने अलमलमा देखिन्छ । प्रदेश सरकारको विदेशी कुटनीतिज्ञसँग सम्पर्क सञ्जाल नहुँदा सोझै खरिद गर्न सकेको छैन । संघीय सरकारले पठाएको सिमित कोटामा खोप व्यवस्थापन भइरहेको छ ।