हेटौंडाः हेटौंडा अस्पतालमा २ सय शैयाको ६ तले भवनको मंगलबार शिलान्यास गरिएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज अस्पताल परिसरमा पुगेर भवनको शिलान्यास गर्नुभएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरको आयोजनामा शिलान्यास सम्पन्न भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पताललाई ५ सय बेडको बनाउने बताउनुभएको छ । यसअघि ३ सय शैयाको लागि भवन अन्तिम चरणमा निर्माणाधिन छ । उक्त भवनको रंगरोगन र फिनिसिंग मात्रै बाँकी रहेको छ । अहिले थप २ सय शैयाको लागि भवन निर्माण हुन लागेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले अस्पतालमा निर्मार्णाधिन भवनहरु सबै बनिसक्दा अस्पताल ५ सय बाट ९ सय शैयासम्मको हुने बताउनुभयो ।

मकवानपुरको स्वास्थ्य क्षेत्रमा पहिलेको तुलनामा आमुल परिवर्तन भएको दाबी गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझै उच्च सेवाहरु प्रदान गर्ने बताउनुभयो । अस्पतालको भवन भ्याट सहित २३ करोड २७ लाखको लागतमा निर्माण गर्न लागिएको हो । विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसंग २०८० पुस १६ गतेभित्र भवनको निर्माण सक्ने गरी सम्झौता भएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख राजेश पौडेलले बताउनुभयो । अस्पताल भवन शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, सामाजिक विकास मन्त्री सरस्वती बस्नेत लगायतको उपस्थिति रहेको थियो ।