हेटौंडाः मकवानपुर जिल्लामा शनिबार कोरोना संक्रमितको दोब्बर संख्यामा संक्रमणमुक्त भएका छन् । पीसीआर परीक्षण नभएका कारण एन्टिेजन विधिबाट मात्र कोरोना परीक्षण गर्दा संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर देखिएको हो ।
शनिबार मकवानपुरका ५६ जना कोरोन मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका ५६ जना कारोना संक्रमणमुक्त भएका हुन् ।
कोरोना संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ३० जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका १० जना तथा भीमफेदी, राक्सिराङ र बकैया गाउँपालिकाका एक–एक जना छन् । योसँगै हालसम्म जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार १ सय ५६ जना पुगेको छ ।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा मकवानपुर जिल्लामा २८ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ६८ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।