खेलाडीलाई सम्मान गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले बक्सिङका खेलाडीहरुलाई सम्मान गरेको छ । युनाइटेड अरब इमिरेट्सको राजधानी दुबईमा हुने जुनियर एण्ड युथ एसियन च्याम्पियनशिप प्रतियोगिताका लागि काठमाडौंमा भएको छनोट प्रतियोगितामा सहभागी मकवानपुरका ३ जना बक्सिङ खेलाडीलाई शनिबार क्लबले सम्मान गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा छनोट प्रतियोगितामा प्रथम भएका र द्वितीय भएका खेलाडीलाई सम्मान गरिएको हो । ६४ केजी तौल समूहमा प्रथम भएका सोहन राई र ४६ केजी तौल समूहमा प्रथम भएकी रोशनी घलानलाई २/२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । यस्तै द्वितीय भएकी बिकिता मोक्तानलाई १ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । प्रथम र द्वितीय भएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पूर्ववरिष्ठ प्रशिक्षक ध्रुबलाल श्रेष्ठले क्रमशः ८/८ सय र ५ सय रुपैयाँ पुरस्कारस्वरुप प्रदान गर्नुभएको थियो ।

यसैगरी पूर्वबक्सिङ खेलाडी अमित मानन्धरले खेलाडीहरुका लागि ५ सय रुपैयाँ र २ कार्टुन फ्रुटी प्रदान गर्नुभएको थियो । क्लबले पूर्ववरिष्ठ प्रशिक्षक ध्रुबलाल श्रेष्ठलाई पनि सम्मान गरेको छ । हाल अमेरिकामा रहँदै आउनुभएका श्रेष्ठ मकवानपुर आउनुभएको बेलामा उहाँले बक्सिङ खेलका लागि पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । छनोट प्रतियोगितामा प्रशिक्षकको भूमिकामा रहनुभएका मकवानपुरका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेल, अनिलप्रसाद दाहाल, एमामुद्दिन मुन्ना, अमित मानन्धर तथा सानु बोम्जन लामालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर महतले खेलाडीहरुका लागि थप नगद पुरस्कार र क्षेत्रको बृद्धिको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पिप्ले युवा क्लबले क्याम्पा रंगशालाको काम तिब्र गतिमा गरेको भन्नुहुँदै उहाँले फुटबलको विकासका लागि एकेडेमी सञ्चालन गर्न २५ लाख रुपैयाँसमेत विनियोजन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ, वडा सदस्य ज्ञानबहादुर थापा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजलगायतको आतिथ्यता रहेको थियो ।