भीमफेदीस्थित बाल गृहको वस्तुस्थितिको अवलोकन गर्नुहुँदै मन्त्रि बस्नेत(बाँयाबाट दोस्रो) ।

हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले भीमफेदी बाल गृहको अवलोकन भ्रमण गर्नुभएको छ । मन्त्री बस्नेतले शनिबार भीमफेदी बाल गृहको वस्तुस्थितिको अवलोकन गर्नुभएको हो ।

नेपाल बाल संगठन जिल्ला समितिअन्तर्गत् रहेको बाल गृहमा ३१ जना बालबालिका आश्रित रहेका छन् । बाल गृहमा आश्रय लिइरहेका २० जना बालबालिका र २ जना कर्मचारी गरी २२ जनामा कोरोना पोजेटिभ देखिएपछि मन्त्री बस्नेतले बाल गृह भ्रमण गर्नु भएको हो ।

कोरोनाको लक्षण देखिएका ९ जना र सामान्य अवस्था रहेका १३ जनालाई संक्रमितलाई बाल गृहभित्रै आइसोलेसनमा राखिएको छ । भ्रमणका क्रममा मन्त्री बस्नेतले बाल संगठनमा नयाँ नेतृत्व आएपछि भएका सुधार र समस्याका बारेमा जानकारी लिनुभएको थियो । अवलोकन भ्रमणमा चिकित्सकको टोली, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानासहित स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अवलोकन भ्रमणमा संक्रमण फैलन नदिन आवश्यक सावधानी अपनाउनु पर्नेबारे छलफल भएको थियो ।

मन्त्री बस्नेतले बाल गृहमा संक्रमण देखिएपछि सावधानी र सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्नुहुँदै बाल गृहमा रहेका बालबालिकालाई मास्क, सेनिटाइजर र ज्वरो नाप्ने थर्मल गन हस्तान्तरण गर्नुभएको थियो । साथै मन्त्री बस्नेतले आवश्यक स्वास्थ्य सहयोग र बालबालिका लागि थप सहयोय गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।