कोरोना बढ्दै गएको छ । तेस्रो महामारीको नजिक पुगिसकेको विज्ञहरुको विश्लेषण छ । दैनिक बढ्दै गएको संक्रमणले यो कुरालाई पुुष्टि गरिरहेको छ । संक्रमण नियन्त्रण तथा रोकथामको प्रथम उपाय नै व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम गर्नु हो । स्वास्थ्य मापदण्ड आफ्नै लागि हो भन्ने चिन्तन सबैमा हुनुपर्दछ । आफूबाहेक सबैजना संक्रमित छन् भन्ने मनोविज्ञानअनुसार व्यवहार गर्ने हो भने सामाजिक जीवन खुला भए पनि संक्रमण नियन्त्रणमा सहज हुनेछ । सामाजिक परम्परा, व्यक्तिको सोचाई र व्यवहारका कारण संक्रमण लुकाउने गर्दा संक्रमण भयावह बन्दै आएको हो । संक्रमण कायम भइरहँदासमेत विरोध र समर्थन गर्नेहरुले कोरोना संक्रमणलाई सहयोग गरिरहेका छन् ।
आधुनिक विज्ञानलाई चुनौती बनेको कोरोना रोकथामका लागि भन्दै यतिबेला विश्वमा खोप प्रयोगमा ल्याइएको छ । धनी देशहरुले आफ्ना धेरै नागरिकलाई खोप दिइसकेका छन् । नेपालजस्तो देशले अनुदानको आशा गर्दागर्दैै संक्रमणका धेरै लहर सामना गर्नु पर्नेछ । तै पनि नेपालमा खरिद गरिएको तथा अनुदान समेत गरी ८५ लाख बढी डोज आइसकेको छ । तर हालसम्म ३५ लाख मानिसले मात्र पहिलो डोज र १५ लाख मानिसले पूर्ण खोप पाएका छन् । पछिल्लो समय खोपको अभाव छैन । आएका खोपलाई नागरिकसम्म पुर्याउने उचित व्यवस्थापनको खाँचो छ । भर्खरैमात्र नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री कुशल व्यवस्थापक मानिन्छन् । तर उनको योग्यता र क्षमता प्रदर्शन कहिलेबाट हुने र नागरिकले खोप पाउने ?
मकवानपुरमा पनि खोप अभियान सञ्चालन भइरहेका छन् । स्थानीय तहको नेतृत्वमा सञ्चालन भएको अभियानमा व्यस्थापकीय कमजोरी प्रष्ट देखिएको छ । खोप केन्द्रमा तोकिएको उमेर समूहका कति मानिस छन् र खोप कति आएको छ भन्नेसमेत थाहा छैन । लाइनमा बसिरहेका मानिसलाई अपर्झट खोप सकिएको सूचना दिने गरिएको छ । यसले खोप अभियानमा व्यवस्थापकीय पक्ष निकै कमजोर देखिन्छ । त्यतिमात्र हैन, लाइनमा बसेकालाई खोप सकियो भनिन्छ, तर केही समयपछि आफ्ना र नातागोतालाई बोलाएरै खोप लगाउने गरेको देखिँदै आएको छ । यस्तो कर्मले सामाजिकरुपमा जनप्रतिनिधिहरुले गर्नुपर्ने भूमिकामा प्रश्न उठ्दै आएको छ । तर यस्ता घटनाहरुको अनुगमन भएको छैन । न कुनै अधिकारवादी संस्थाहरुकै आँखा परेको छ ।
राज्यले तोकिदिएको वर्ग र उमेरका मानिसहरुलाई पुग्ने खोप प्राप्त हुनुपर्दछ । जनसंख्या बढी भए त्यहीअनुसारको परिमाण माग गर्न सक्नुपर्दछ । आफ्ना जिल्लामा तोकिएको उमेर समूहका कति संख्यामा मानिस छन् भन्ने तथ्यांकबाट नजिक पुग्न सकिन्छ । उद्योग वाणिज्य संघका सदस्यहरुले खोप नपाएको गुनासो बढी नै थियो । तर उनीहरुकै लागि भनेर खोप केन्द्र छुट्याएर बोलाउँदा सदस्यहरुको सहभागिता नै कम छ । धेरै सदस्यहरुले यसअघि नै पहुँचका आधारमा खोप लगाइसकेका छन् । आफ्नो पालोभन्दा पहिला नै खोप लगाउनेको संख्या उल्लेख्य छ भने तोकिएको वर्गले पाएका छैनन् । यस्तो अवस्थाको जिम्मेवार को हो ? खोप अपुग भन्दा पनि वितरणमा भएको अनियमितताले नागरिकहरुमा असन्तुष्टि देखिएको छ । सबैलाई पालोअनुसार मात्र खोप लगाउने गरी व्यवस्थापन आवश्यक छ ।