विश्वव्यापी महामारी कोरोनाको संक्रमण केही हप्तादेखि कम हुँदै गएकोमा पछिल्लो समय फेरि बढेको छ । परीक्षण बढाइएसँगै संक्रमण हुनेहरुको संख्या पनि बढेको हो । संक्रमणको संख्यामा कमी आउनासाथ सामाजिक जीवन खुकुलो बनाएसँगै संक्रमण बढ्दै गएको छ । असोजसम्ममा परिस्थिति थप जटिल हुने भन्दै सरकारले सम्पूर्ण तयारी गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । यस्तै स्वास्थ्य मन्त्रालयले पनि अस्पताल तथा स्थानीय तहहरुलाई हाल सञ्चालन गरिएका आइसोलेशन सेन्टरदेखि कोभिड अस्पतालहरु थप छ महिनासम्म बन्द नगर्न भनेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुका प्रक्षेपणका आधारमा राज्यले यतिबेला तयारी सुरु गरेको छ । राज्यका तर्फबाट देखाएको सक्रियताबाट आम नागरिकहरुमा विश्वास र त्रास सँगै बढेको छ ।

कोरोना महामारी केही कम हुँदै गएको अवसरलाई सदुपयोग गर्दै विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुबाट परीक्षा सुरु भएको छ । विद्यार्थीको भविष्यको छिनोफानो हुने परीक्षा सञ्चालन गर्नु स्वभाविक हो । तर राजनीतिक कार्यकर्ताजस्तै भिडभाड गर्ने हो भने भविष्य खोज्दै गर्दा ज्यान नै तलमाथि हुनसक्ने खतरा पनि छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाइनु अनिवार्य हुन्छ । यतिबेला स्नातक तह प्रथम वर्षको अन्तिम परीक्षा सुरु भएका छन् तर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भने भएको छैन । निषेधाज्ञाका कारण स्थगित परीक्षा कोरोना संक्रमण जोखिमकै बीचमा सुरु गरिएको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पूरा पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

मकवानपुर जिल्लाका स्नातक तह अध्यापन गराउने विभिन्न क्याम्पसमा परीक्षा सुरु भएको छ । तर, परीक्षा सञ्चालन अघि र पछि विश्वविद्यालयले गरेको निर्देशनबमोजिम स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको देखिएन । परीक्षा दिन सयौंको संख्यामा बाहिरी जिल्लाबाट समेत परीक्षार्थीहरु आएका थिए । परीक्षा दिन आएका परीक्षार्थीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने जिम्मेवारी क्याम्पसहरुको हो । धेरै विद्यार्थीको बीचमा भौतिक दूरी पालना नभएकोमात्र होइन, क्याम्पसले विद्यार्थीको ज्वरो नाप्ने तथा सेनिटाइजर प्रयोग गर्ने सामान्य स्वास्थ्य सुरक्षा कायम गरेको छैन । विद्यार्थीलाई सिधै क्याम्पसको परीक्षा हलमा प्रवेश अनुमति दिइएको छ भने क्याम्पस परिसरभित्र र बाहिर विद्यार्थीहरु बिनामास्क एक–आपसमा गफ गरेका घटनाले कोरोना सकिएकै हो भन्ने प्रश्न उठेको छ ।

विज्ञ तथा सरकारको खबरदारीले जुनसुकै अवस्थामा संक्रमित हुने डर नागरिकमा बढ्दै गएको छ । सरकारको चेतावनी हुँदाहुँदै पनि राजनीतिक दलहरु आमसभा, भेटघाट गर्नेदेखि विरोध प्रदर्शनसमेत गर्न थालेका छन् । यस अवस्थाले ल्याउने दुष्परिणाम भोग्नका लागि तयार हुनुको विकल्प छैन । स्वास्थ्य मापदण्डबिना नै राजनीतिक कार्यक्रम आयोजना किन हुन्छन् ? राजनीतिक कार्यकर्तालाई चाहिँ कोरोना नलाग्ने हो कि ? हैन भने भिडभाड गरेर महामारी निम्त्याउने काम अगुवा वर्गबाटै हुनु दुःखद् अवस्था हो । कोरोना भाइरस नियन्त्रणको अन्तिम उपाय नै दूरी कायम गर्ने हो । यसका लागि व्यक्ति स्वयम् होशियार हुनु आवश्यक छ । तर परीक्षा सञ्चालन गर्ने क्याम्पस, परीक्षार्थी वा राजनीतिक कार्यकर्ता कसैले पनि होशियारी नअपनाउने हो भने महामारी अब धरै टाढा छैन ।