वत्सराज कोइराला

सत्य–असत्य, राम्रो–नराम्रो आदि छुट्याउने बुद्धि संसारका प्रायः हरेक मानिसमा हुन्छ । हामीले आज सत्य मानेका कुराहरु भोलि असत्य सावित हुन सक्छन् । आज कसैसँग उसको परिवार छ, घर र जायजात सबैथोक छ, त्यसमा उसको पूर्ण स्वामित्व छ । उसको मर्जी बेगर कसैले त्यो स्वामित्व आफ्नो अधिकारमा लिन सक्दैन । तर भोलि परिस्थितिवश जमीन बेच्नु पर्ला, घर नै जमानतमा राख्नु पर्ला, कुनै प्रियजनको मृत्यु होला । यस्तो मनोदशामा सत्य–असत्य छुट्याउन गाह्रो पर्छ ।

तर एउटा अन्तिम सत्य पनि छ यो संसारमा, त्यो हो प्रेम । आफ्ना प्रियजनहरुप्रति प्रेम, आफ्ना विचार र सिद्धान्तहरुप्रति प्रेम, आफ्नो अस्तित्व र सम्मानप्रतिको प्रेम तथा आफ्नो मुलुक, समाज र संस्कृतिप्रतिको प्रेमको बलमा सारा संसार व्यवस्थित ढंगले संचालित छ । मानिसहरू भन्छन् यो संसार मिथ्या हो, भ्रम हो, तर सबै बाँचिरहेका छन्, मर्न सबै डराउँछन् । यो सबै प्रेमकै कारणले गर्दा हो । यद्यपि यो प्रेम सांसारिक हो, तर विधि–व्यवस्था यसरी नै चलिरहेको छ ।

प्रेम मानव जीवनको कसी हो । यसैबाट मान्छेको दृष्टिकोण, हृदयको विशालता र बुद्धिको सूक्ष्मता थाहा हुन्छ । जसको हृदयमा प्रेमको प्रकाश जगमगाएको हुन्छ, त्यही मान्छे उत्कृष्ट हुन्छ । प्रेम नै मानव जीवनको सर्वोदय प्रेरणा हो । अरु सबै भावहरु आश्रित भाव हुन् । स्वाधीन र सदगति दिलाउने आन्तरिक प्रेरणा प्रेम हो । समष्टिगत विशाल भावनालाई प्रेम मान्न सकिन्छ । यसमा त्याग र आत्मोत्सर्गको भावना हुन्छ । आफ्ना हितहरुलाई प्रेमीको निम्ति बलिदान दिएर असीम तृप्तिको अनुभव गर्छ । सामन्यतया प्रेम स्वार्थजस्तो मानिएला तर स्वार्थी प्रेममा अन्तस्करणको भाव जागृत हुँदैन । जब स्वार्थ समाप्त हुन्छ, तब प्रेमको उदय हुन्छ ।

प्रेमको भावना जति विस्तृत हुन्छ, मानिसको व्यक्तित्व पनि त्यही अनुपातमा परिष्कृत हुन थाल्छ । प्रारम्भमा यो भाव आफूप्रति मात्र केन्द्रित हुन्छ, जे खाए पनि आफू मात्र खाइन्छ, जे लगाइन्छ आफू मात्र लगाइन्छ । आफूलाई मात्र प्राथमिकता दिएर त्यतिखेर मान्छेले प्रेमको अनुभूति गर्न सक्दैन । अस्थिरता, चञ्चलता र अशान्ति कायमै रहन्छ । बिस्तारै यसको परिष्कार हुन थाल्छ । घरमा धर्मपत्नी आउँछिन् अनि पतिका व्यक्तिगत स्वार्थहरु कटौती हुन थाल्छन् । अब प्रेमको प्रादुर्भाव हुन्छ । बालबच्चाहरु जन्मन थालेपछि प्रेमपूर्ण भावनाहरु अझ बढ्छन् ।

गीतामा लेखिएको छः
आत्मानाम् सर्वभूतेषु सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ।।

अर्थात्, सबै प्राणीहरुमा एउटै आत्मा रहेको छ, त्यसैले सबैलाई समभावले हेर्दै सबैसँग प्रेम गर्नुपर्छ । जीसस भन्छन्– ‘हामीले एक–अर्कालाई प्रेम गर्नुपर्छ, किनकि प्रेम नै ईश्वर हो । ईश्वरलाई त्यसैले जान्दछ, जो प्रेम गर्छ ।’ कृष्णले गीतामा कर्मयोगको आवश्यकतामा जोड दिएको भए पनि त्यसको आधार प्रेम नै हो । फलको भावनाबाट रहित हुँदै केवल कर्तव्यको दृष्टिले काम गर्न थालेपछि अन्तस्करणमा प्रेमको प्रादुर्भाव हुन थाल्छ । प्रेम बिना कर्मको पूर्णता हुन सक्तैन ।

वास्तवमा परमात्मालाई प्राप्त गर्ने सीधा बाटो र सरल उपाय विशुद्ध प्रेम हो । निर्भिकता, दृढता, साहस, पवित्रता, त्याग, सत्यनिष्ठा र कर्तव्य–भावनाको आधार नै विशुद्ध र पवित्र प्रेम हो । प्रेमपूर्ण नागरिकहरुको बाहुल्यताबाट मात्र मुलुकको हकहित फल्छ फुल्छ । प्रेम मानव जीवनको सार्थकता हो । प्रेमविहीन जीवन त पशुहरुको पनि हुँदैन ।