हेटौंडा ४ स्थित पशुपति मन्दिर परिसरमा खोप लगाउन अवरुद्ध भएसँगै पालो कुर्दै नागरिकहरु

हेटौंडाः हेटौंडा–४ मा कोभिड विरुद्ध खोप लगाउन केहीबेर अबरुद्ध भएपनि फेरि सुचारु भएको छ । दिउँसो ३ बजे शिक्षकहरुले खोप लगाउन नपाएसँगै उनीहरुले आक्रोश पोखेका थिए । हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले आज र भोलि ५५ वर्ष माथिको उमेर समूहलाई खोप लगाउने र शिक्षकलाई पछि लगाउने बताउनुभएको छ ।

सरकारले शिक्षक, चालकलाई पनि खोप लगाउन भनेको छ । स्वास्थ्यकर्मीले नियमभन्दा बाहिर गएर खोप लगाउन नहुने भन्दै वडाअध्यक्ष सिग्देल स्वास्थ्यकर्मी माथि खनिएका थिए । यता शिक्षकहरुले खोप लगाउन नपाएको भन्दै नवोदयका शिक्षकले खोप लगाइदिन आग्रह गरेका छन् । शिक्षक सिएम रिमालले सबै शिक्षकले खोप लगाउन पाउनुपर्ने बताउनुभएको छ । हेटौंडा ४ नम्बर वडामा धेरै शिक्षक र ५५ वर्षमाथिका नागरिक भएकोले शिक्षकलाई खोप लगाउन पहिले वडासँग समन्वय गर्नुपर्ने वडाअध्यक्ष सिग्देलले जानकारी दिनुभयो । उहाँले शिक्षकको नामलिस्ट, आइडिकार्ड फोटोकपि सहित वडामा निवेदन आएपछि मात्र त्यसबारे छलफल हुने बताउनुभयो । आज र भोलिलाई भने ५५ वर्षमाथिकालाई मात्र खोप लगाइने उहाँले बताउनुभयो ।

यता हेटौंडा ८ कमानेको चन्द्रोदय माविमा पनि खोप लगाउन विवाद भएको छ । आफ्नो मान्छे र पछि आएकालाई खोप लगाएसँगै स्थानीयहरुले विवाद गरेका थिए । स्थानीय एन्जिला अधिकारीले हिजो बाट लाइनमा बसेकाहरुले पनि आज लगाउन नपाएको जानकारी दिनुभएको हो ।