हेटौंडा–१५, गौरिटारमा फलफुलका बिरुवा रोप्दै रोटरी क्लबका पदाधिकारी र स्थानीय ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले जिल्लाका गरिब, विपन्न परिवारका महिला समुहहरुलाई फलफुलका बिरुवाहरु वितरण गरेकोे छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा मन्त्रालयसँगको सहकार्यमा फलफुलका बिरुवाहरु वितरण गर्नुका साथै वृक्षरोपणको कार्य समेत सुरुवात गरेको छ ।

फलफुलका बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रमका लागि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोटरी क्लबलाई ४ लाख रुपैयाँ बराबरको बिरुवा प्रदान गरेको रोेटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार एभोकाडो, कागती, लिच्ची र आँपका बिरुवाहरु वितरण गरिएको छ । समुहमा आवद्ध महिलाहरुलाई ६–७ वटाका दरले निशुल्क रुपमा विरुवा वितरण गरेको हो । रोटरी क्लब अफ हेटौंडाले विपन्न परिवारको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बिना धितो, बिना व्याजको ऋण लगानी गर्दै आइरहेका महिलाहरुलाई व्यावसायिक रुपमै फलफुल खेती गर्दा आर्थिक टेवा होेस् भन्ने उद्देश्यले बिरुवा वितरण थालेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्राविधिक अधिकृत सामना न्यौपानेको प्रत्यक्ष रेखदेख र निश्चित मापदण्डमा बिरुवाहरु रोपिएको छ । सोमबार हेटौंडा–१५, गौरीटार, हेटौंडा–१६, हटिया र हेटौंडा–१४, उत्तरपानीमा ५ सय वटा बिरुवा वितरण गरिएको छ । आइतबार रोेटरी क्लब अफ हेटौंडाले मनहरी गाउँपालिका–३ स्थित हाँडीखोलाका महिला समुहलाई ५ सय वटा बिरुवा वितरण गर्नुका साथै वृक्षरोपणको सुरुवात समेत गरेको थियो । दुई दिनमा १ हजार वटा बिरुवा वितरण गर्ने र रोप्ने कार्य गरिएको छ ।