हेटौंडाः राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईका खेलाडी अन्जन विष्टले ए डिभिजन फुटबल क्लब मनाङमस्र्याङदी फुटबल क्लबको कप्तानी भुमिका सम्हाल्ने भएका छन् । आगामी असोजबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग प्रतियोगितामा मकवानपुरे खेलाडी अन्जनले मनाङको कप्तानी गर्ने भएका हुन् ।
लिगका लागि क्लबले फरवार्ड लाईनसहित कप्तान को जिम्मेवारी अन्जन विष्टलाई दिने भएको जनाइएको छ । गत सिजन पनि मनाङबाटै खेलेका अन्जनले यो सिजनका लागि पनि सम्झौता नविकरण गरेका छन् । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी फुटबल क्लबबाट मार्की खेलाडी समेत रहेर कप्तानको भुमिका निभाएका अन्जनलाई ए डिभिजन लिगमा समेत कप्तानीको भुमिकामा देख्न पाइने छ । एनएसएलमा अन्जनको कप्तानीमा रहेको ललितपुर सिटी तेस्रो भएको थियो भने अन्जन एनएसएलकै उत्कृष्ट फरवार्ड घोषित भएका थिए ।
वि.सं २०७० सालमा एपिएफमा आबद्ध हुँदै ए डिभिजन लिगमा डेव्यु गर्दै व्यावसायिक फुटबल सुरु गरेका अन्जनले करिब साढे ३ वर्ष एपिएफमा रहेको ए डिभिजन लिग तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए । युरोपको सम्भावनालाई समेत अनुभव गरेका अन्जनले २०७५ सालबाट मनाङमै रहेर फुटबल खेलिरहेका छन् । राष्ट्रिय टिममा समेत रहेर सधैझैं उत्कृष्ट खेल पस्कदै देशको प्रतिनिधित्व गरिरहेका अन्जनले पछिल्लो अन्तर्राष्ट्रिय पदकको रुपमा थ्रीनेसन्स कपमा स्वर्ण जितेका छन् भने त्यस अघि पनि उनले अन्तर्राष्ट्रिय पदकहरु जितिसकेका छन् ।