हेटौंडाः मकवानपुर जिल्लामा ५ सयवटा विद्यालय छन् । जसमध्ये उपमहानगरमा निजी र सामुदायिक विद्यालय गरी एक सय २३ वटा विद्यालय छन् । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी मकवानपुरमा खुकुलो भए पनि निषेधाज्ञा जारी छ । जसमा विद्यालय क्षेत्र भने ठप्प नै रहेका छन् । सरकारले असार १ गतेदेखि भर्ना अभियान तथा वैकिल्पक विधिबाट पठनपाठन गर्न आग्रह गरेको छ । यसैक्रममा विद्यालयमा विद्यार्थी भर्नासँगसँगै अनलाइबाट पठनपाठन पनि सुरु भइरहेको छ ।

तर, शनिबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा विकास महाशाखा प्रमुख रुद्र भण्डारीले नेपालमा प्रविधिमैत्री शिक्षा सहज नभएको बताउनुभएको छ । कोरोना भाइरसको कारण शिक्षा क्षेत्रमा निकै नै प्रभाव परेको भन्दै उहाँले जतिसुकै प्रविधिमैत्री शिक्षा भनेर बाहिर चर्चा र परिचर्चा भएपनि प्रविधिमैत्री शिक्षा प्रभावकारी तथा सम्भव नहुने तथ्य स्वीकार्य रहेको बताउनुभयो ।

हाल विद्यार्थीहरुलाई अनलाइनमार्फत् अध्यापन गराइएपनि ३० प्रतिशत विद्यार्थीको मात्र उपस्थिति रहेको र सिकाईको प्रभावकारिता ५० प्रतिशतमात्र देखिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । विकट क्षेत्र र निम्नस्तरका विद्यार्थीलाई समेट्न नसकिएको कारण र सहभागी विद्यार्थीलाई पनि राम्रोसँग शिक्षा प्रदान गर्न नसकिएको कारण अनलाइन शिक्षाको विषयमा जति प्रचार गरेपनि यसको प्रभावकारिता नरहेको उहाँको भनाई छ ।

रेडियो, टेलिभिजनजस्ता आमसञ्चार माध्यमबाट पठनपाठन गरेपनि ६० प्रतिशतभन्दा बढि विद्यार्थी शिक्षण सिकाई क्रियाकलाप तथा शैक्षिक उपलब्धिबाट वञ्चित रहेको प्रमुख भण्डारीले बताउनुभएको छ । अहिलेका विषम परिस्थितिमा शिक्षण सिकाईमा चुनौतीको विषय बनेको उहाँले बताउनुभयो । अनलाइनबाट शिक्षण सिकाईका क्रियाकलाप अगाडि बढाउन शिक्षकलाई आईसीटी तालिममा प्रदेश सरकारले जोड दिएको उहाँले भन्नुभयो ।

विद्यालयका शिक्षकलाई नै खोप दिन नसकेको अवस्थामा प्रविधिमैत्री शिक्षा सम्भव नै नहुने उहाँको भनाई छ । प्रदेश सरकारले गुणस्तरीय शिक्षालाई अगाडि बढाएको हुँदा यसलाई सफल पार्न सबै क्षेत्रको सहयोगको अपेक्षा उहाँले गर्नुभएको छ । प्रदेश सरकार संघीय सरकारसमक्ष पुग्न नसकेको अवस्थामा सबै क्षेत्रबाट जवाफदेही बन्न सके प्रदेश सरकारलाई नीति तथा कार्यक्रम अगाडि बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत् शिक्षा क्षेत्रमा भएका चालु आर्थिक वर्ष सम्पादन गरिएका कार्यक्रम तथा आगामी आर्थिक वर्षमा गरिने कार्यक्रमहरुबारे सञ्चारकर्मीसँग छलफल गरिएको छ । सो अवसरमा सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान विषयगत सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने कार्यक्रम गरिने बताइएको छ । यस्तै दूर तथा खुला शिक्षा र वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट सिकाइ सहजीकरणका लागि सामग्री विकास गरिने योजना रहेको जानकारी दिइएको थियो ।