प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीसहित खेलकुद क्षेत्रका पदाधिकारीहरु गौरिटार रंगशाला अनुगमनको क्रममा ।

हेटौंडाः हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको फुटबल मैदानको काम राम्रोसँग नभएको पाइएको छ । बहुवर्षीय योजनाअनुरुप चालु आर्थिक वर्षमा रंगशालामा फुटबल मैदान निर्माण, दुबो रोप्ने काम तथा रनिङ ट्रयाक खोल्ने कामको ठेक्का पाएको गिरी कन्स्ट्रक्सनले काम राम्रोसँग नगरेको पाइएको हो ।

आइतबार प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामा, कार्यालय प्रमुख राजन दाहाल खुशराज र मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामासहितको टोलीले गरेको रंगशाला निरीक्षणको क्रममा गौरीटारको फुटबल मैदान निर्माणको काम राम्रोसँग नभएको देखिएको थियो ।

मैदानमा पानी जमेको कारण मरेको दुबो ।

निरीक्षणको क्रममा मैदानका अधिकांश स्थानमा पानी जमेको कारण मैदानमा रोपिएको दुबोहरु मरेका भेटिएको छ । मैदानमा परेको पानी तैरिएर मैदानभन्दा बाहिरको ढलमा जानुपर्ने र जमिनले सोस्नुपर्ने भएपनि मैदानको धेरै ठाउँमा पानी जमिरहेको थियो । पानी परेर रोकिएपछि अन्य ठाउँमा सुख्खा भएपनि ती ठाउँहरुमा भने पानी जमेर हिलो बनेको थियो भने रोपिएको दुबो पनि मर्दै गएका कारण पातलो भएर माटो निस्कने अवस्था देखिएको हो ।

चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको ५ करोड रुपैयाँ बजेटमा काम सुरु गरेको उक्त निर्माण कम्पनीले मैदानको आवश्यक सुधार नगरी मैदान हस्तान्तरण गर्न नसक्ने सदस्यसचिव भण्डारीले जानकारी दिनुभयो । यस विषयमा सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण कार्यान्वयन एकाई धादिङ तथा ठेकेदारलाई जानकारी गराइने उहाँले बताउनुभयो ।

यस्तै निर्माण भइरहेको मैदानको सुरक्षाका लागि हाल कोही सुरक्षाकर्मी नहुँदा बन्दै गरेको मैदानमा पिकनिक खाने तथा टिकटक बनाउन आउनेहरुको भिड लाग्ने गरेको छ । भर्खरै रोपेको दुबोमाथि बसेर ड्राइ पिकनिक गर्न आउनेहरुलाई सुरक्षाकर्मी नभएकै कारण रोक्न सकिएको छैन । जसले गर्दापनि निर्माणाधीन मैदानलाई हानि गर्ने प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले बताउनुभयो । आइतबार पनि निरीक्षणको क्रममा मैदानभित्र नै पिकनिक खाइरहेका र टिकटक बनाइरहेका ९/१० जनाको समूहलाई सम्झाई बुझाई पठाइएको थियो । रंगशालाको सुरक्षाका लागि सुरक्षाकर्मीको राख्ने कुरा भइरहेको र चाँडै नै सुरक्षाकर्मीको व्यवस्था गरी रंगशाला निरीक्षण तथा सुरक्षा कडा पारिने परिषद्ले जनाएको छ ।

बहुवर्षीय योजनाअनुरुप कुल २५ करोड बजेटको उक्त रंगशालालाई आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बागमती प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटले रंगशालामा प्याराफिट निर्माण गर्ने तथा रनिङ ट्रयाक निर्माण सम्पन्न गरिनेछ । यस कामका लागि भने नयाँ ठेकेदारले ठेक्का प्राप्त गरेका छन् । उनले आगामी आर्थिक वर्षमा निर्धारित बजेटभन्दा बढीको काम गर्नसके थप बजेट निकासा हुने पनि सदस्यसचिव भण्डारीको भनाई रहेको छ ।

हाल प्रदेश खेलकुद विकास परिषद्सँग जनशक्ति नभएकाले निर्माण कार्य तथा ठेक्का प्रदान गर्ने काम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत्को सार्वजनिक निर्माण कार्यान्वयन एकाई धादिङले गरिरहेको उहाँले जानकारी दिनुभयो । रंगशालाको विषयमा हाल प्रदेश खेलकुद विकास परिषद्ले निरीक्षण गर्ने, सोको जानकारी मन्त्रालयमा गराउने, संरक्षणको कामहरु गर्ने तथा काम चित्त नबुझेमा ठेकेदारलाई खबरदारी गर्नेलगायतका कार्यहरुमात्र गर्नसक्ने सदस्यसचिव भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस् :