हेटौंडाः बागमती प्रदेश सभाको बैठक शनिबारदेखि स्थगित छ । आज दिउँसो १ बजे प्रदेश सभा बस्ने भनिएपनि दलहरुको सहमति बन्न नसक्दा आज पनि सदन चल्न सक्ने अवस्था छैन ।

आज बिहान प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विद्युतीय बस खरिद प्रक्रियाबारे सबै दललाई जानकारी दिएका थिए । विद्युतीय बस खरिद प्रक्रियाको टेन्डर यही साउनमा हुने चरणमा रहेको थियो । आगामी वर्षमा विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले ५० करोड बजेट छुट्टाएको छ । तर बजेट छलफलमा सांसदहरुले विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने भन्दै सदन अवरुद्ध गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादीको नेता शालिकराम जम्मकट्टेलले पूर्वाधार बनाएर मात्रै बस खरिद गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले धादिङ जिल्लामा अहिलेको प्रक्रियामा बस खरिद गरेमा चार्जिङ स्टेशन राख्न नदिने बताउनुभएको छ । यता विपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँले भने लोकतन्त्रमा राज्यले जनतालाई सेवा दिनुपर्ने तर व्यापार गर्न नहुने बताउनुभयो । उहाँले बस खरिद प्रक्रिया नै गलत भएको भन्दै कांग्रेसको समर्थन नगर्ने बताउनुभयो ।

आज बिहान बसेको सबै दलको बैठकमा सांसदहरुले विद्युतीय बसको स्वागत गरेका थिए । उनीहरुले विद्युतीय बस चल्न पूर्वाधार पहिले र बस खरिद प्रक्रिया हुनुपर्ने माग राखेका छन् ।

तर सरकार भने बस खरिद प्रक्रियामा अघि बढ्ने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताउनुभयो । सबैको सुझाव ग्रहण गर्दै बस चलाउन अध्ययन, आवश्यक पूर्वाधार तयार भएको पनि उहाँले बताउनुभयो । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललेको उपस्थितिमा सबै दलका नेताहरु आज छलफल भएको थियो ।

विद्युतीय बस खरिद प्रक्रिया, मिडिया संचालन, सुरुङमार्गमा छलफल गर्ने प्रतिपक्षले तयारी गरेका थिए । तर विद्युतीय बस खरिद प्रक्रियामै सहमति बन्न नसकेपछि अन्य विषयमा प्रवेश हुनै पाएन ।