रंगशालाको सुरक्षा र संरक्षण गर्दै बसेका दम्पतीलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराज ।

हेटौंडाः बिगत ४० वर्षदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालाको संरक्षण गर्दै आएका एक दम्पतीलाई नै हाल संरक्षणको आवश्यकता परेको छ । गौरीटार रंगशाला क्षेत्रभित्र नै सानो कच्ची घर बनाएर रंगशालाको सुरक्षा र संरक्षण गर्दै बसेका ती दम्पती बृद्ध भएपछि उहाँहरुले आफ्नो संरक्षणका लागि अनुरोध गर्नुभएको छ ।

उमेरले ७६ वर्ष पुग्नुभएका कृष्णबहादुर विश्वकर्मा र उहाँकी श्रीमती बि.सं २०३८ सालदेखि सोही ठाउँमा बसेर रंगशालाको संरक्षण गर्दै आउनुभयो । हाल उहाँहरु बृद्धका साथै अस्वस्थ भएकै कारण समस्यामा पर्नुभएको छ । हाल कृष्णबहादुर राम्रोसँग आँखा नदेख्ने हुनुभएको छ भने उहाँकी श्रीमती पनि काम गर्न नसक्ने भैसक्नुभएको छ । आइतबार प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीसहितको टोलीसँग रंगशाला अनुगमनका क्रममा भेट भएपछि विश्वकर्मा दम्पतीले आफ्ना दुःखहरु व्यक्त गर्नुभयो ।

दुई छोरा हुर्काउनुभएका विश्वकर्मा दम्पतीले हाल तिनै छोराहरुको साथ र माया पाउनसमेत कल्पना गर्नुपर्ने बताउनुहुन्छ । छोराबुहारीले फर्केर पनि नहेर्ने र उल्टै बुहारी आएर बेलाबेलामा कुटपिट गरेर जाने गरेको उहाँहरुको भनाई छ । काम गर्न सकुञ्जेल रंगशालाको संरक्षण गर्दै काम गरेर बाँचेपनि अब नसक्ने भएपछि भने समस्या भएको कृष्णबहादुरले बताउनुभयो । यत्तिका वर्ष यहि रंगशालाको संरक्षण गर्दै बसेकाले अब अन्तिम साससम्म पनि यहिँ नै बस्न पाउनुपर्ने भन्दै उहाँले इच्छा व्यक्त गर्नुभयो । तर खाना पकाउन पनि नसक्ने भइसकेकाले खानाको लागि समस्या भएको कृष्णबहादुरकी श्रीमतीले बताउनुभयो । बिहानको खाना जसोतसो पकाएपनि बेलुका भोकै सुत्ने गरेको उहाँले भन्नुभयो ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव भण्डारीले यदि विश्वकर्मा दम्पतीको हेरचाह गर्ने, बिहान बेलुका खाना पकाएर खुवाउन कोही सहमत भए उसलाई सोही रंगशालाभित्र रोजगारी दिने प्रतिबद्धता जनाउनुभएको छ । रंगशालामा सदस्यसचिव भण्डारीसँगै पुग्नुभएका प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामा, कार्यालय प्रमुख राजन दाहाल खुसराज, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामासहितले बृद्ध दम्पतीलाई सहयोग स्वरुप १५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।