किरियापुत्री भवन निर्माणका लागि सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष राजन थापा (बायाँ) ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७, नवज्योति टोलमा निर्माणाधीन किरियापुत्री भवनको निर्माण कार्य पूरा गर्न वडा अध्यक्ष राजन थापाले ६० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उपभोक्ता समूहमार्फत निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि आइतबार वडा अध्यक्ष थापाले वनदेवी राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष राजी प्रसाद ढकाललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ सहयोग तथा उपभोक्ताको ३ लाख रुपैयाँ लागत सहभागितामा किरियापुत्री भवन निर्माण भइरहेको छ । ३ वटा कोठा, एक कोठा बराबरको बरण्डा र शौचालयसहितको किरियापुत्री भवनको निर्माण कार्य आगामी दुईसाताभित्र पूरा हुने वडा अध्यक्ष राजन थापाले जानकारी दिनुभएको छ । उपभोक्ताको सक्रियतामा निर्माणाधिन भवनका लागि भत्ता वापत प्राप्त हुने रकम सहयोग गरेको उहाँले बताउनुभएको छ ।

किरियापुत्री भवन निर्माणपछि ७ नम्बर वडावासीस“गै वडा नम्बर ८ र १५ का वासिन्दालाई पनि किरिया कर्म गर्न सहज हुनेछ । एक महिनाअघि किरियापुत्री भवन निर्माण सुरु गरिएको हो ।