हेटौंडाः मकवानपुरमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा एक साता थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आइतबारको सिफारिसमा जिल्ला सुरक्षा समितिले आइतबारै असार १४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यसअघि असार ७ गते सोमबार राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको जिल्ला सुरक्षा समितिले गैरखाद्य बस्तुको पसल पनि खोल्ने निर्णय गरेको छ । यस्तै होटलले पनि दिउँसोको समयमा डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी गराएको छ ।

जिल्लाभित्र संक्रमणको दर क्रमशः घट्दै गएको तर जोखिम यथावत नै रहेको ठहर गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । सुरक्षा समितिले गैरखाद्य पसलहरु पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने निर्णय गरेको छ । यस्तै रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । स्थानीय प्रशासनले हेटौंडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने स्पष्ट पारेको छ ।

सुरक्षा समितिले यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय गरेको पनि जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ भने निजी सवारी साधनसहित मयुरी, अटो, ट्याम्पोमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी गते अनुसार जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने निर्णय सुरक्षा समितिले गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
यसअघि औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटेरिनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्न दिइएको थियो । अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू भने बिहान ४ बजेदेखि विहान १०ः०० बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।