हेटौंडाः बागमती प्रदेश सभाको प्रदेश मामिला समितिले बागमती प्रदेश सरकारलाई आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनिकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । प्रदेश मामिला समितिको शनिबार भर्च्युयल माध्यमबाट बसेको बैठकले प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनिकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिन भित्र विवरण पेश गर्न माग गरेको हो ।

बागमती प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठुलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेश भित्रका अन्य धेरै ठाँउहरुपनि जोखिमयुक्त रहेकाले तत्काल प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन् समस्या समाधानको लागि विस्तृत विवरण तयार गरी विपद् न्यूनिकरणमा प्रदेश सरकारलाई आवश्यक मार्ग दर्शन गर्न विभिन्न उपसमितिहरु समेत गठन भएको जानकारी दिनुभयो ।

यस्तै समितिले प्रदेश भित्रका नागरिकहरुमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको संख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ्ग र नुवाकोटमा स्थलगत रुपमा विवरण संकलन गर्ने निर्णय गरेको समितिका सचिव त्रिपुरारी बख्रेलले जानकारी दिनुभयो। यस्तै प्रदेश भित्रका सबै जिल्लामा सरकारले गरेको यथार्थ खर्चको विवरण १५ दिन भित्र प्राप्त हुने गरी माग गर्ने समेत निर्णय भएको सचिव बख्रेलले बताउनुभयो।