हेटौंडाः कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण कोही भोकै बस्न नपरोस् भनी रोटरी क्लब अफ मकवानपुरले जेठ १२ गतेदेखि सुरु गरेको निशूल्क खाना खुवाउने कार्य जारी छ । पञ्चसिद्धि फाउण्डेसनको साथमा सुरु गरिएको खाना खुवाउने कार्यको १४ औं दिन मंगलबार २५६ जनाले खाना खाएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।
हेटौंडा–४ का राम श्रेष्ठ र रमा श्रेष्ठले छोरा रूपेश श्रेष्ठको जन्मदिनको अवसरमा मंगलबारको खानाका लागि सहयोग गर्नुभएको थियो । मंगलबार हुप्रचौरमा १२२ जना, हेटौंडा अस्पतालमा १०० जना र असहायहरुका लागि घरमुखी सेवा ३४ जना गरी कुल २५६ जनालाई खाना खुवाइएको खाना खुवाउने कार्यक्रमका संयोजक शुक्र राज जोशीले जानकारी दिनुभयो । यस्तै हेटौंडा अस्पतालमा उपचाररत ९२ जनालाई बिहानको नास्ता खुवाइएको छ । रोटरी क्लबको अभियानबाट प्रभावित भई हेटौंडा–१० राप्तीरोडस्थित सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडे खाद्यान्न सहयोग गरेको छ ।
यसअघि १३ औं दिन सोमबारका लागि रोटरी क्लब अफ मकवानपुरका सचिव कृष्णबहादुर कार्कीले हजुर आमा स्व. पदम कुमारी कार्कीको सम्झनामा निशुल्क खाना अभियानमा सहयोग गर्नुभएको थियो । सोमबार हुप्रचौरमा ११८ जना, हेटौंडा अस्पतालमा १०० जना र असहायहरुका लागि घरमुखी सेवा ४३ जना गरी कुल २६१ जनाले खाना खाएका थिए । यस्तै हेटौंडा अस्पतालमा उपचाररत ९४ जनालाई बिहानको नास्ता खुवाइएको थियो ।