हेटौंडाः सामाजिक क्षेत्रमा क्रियाशील संस्था सचेत नागरिक युवा समुह मकवानपुरले सामुदायिक प्रहरी सेवा उपकेन्द्र, हेटौंडा–१० र हेटौडा बजार क्षेत्रभित्र सेवा गरिरहेका ट्राफिक प्रहरीलाई दिवा खाजा र पानी सहयोग गरिरहेको छ । समूहका अध्यक्ष शिवनारायण श्रेष्ठका अनुसार जारी निषेधाज्ञा अवधिभर होटल, पसल नखुल्ने भएकोले खाजा र पानी सहयोग गरिएको हो ।

निषेधाज्ञा अवधिभर खाजा र पानी वितरणको कार्य जारी राखिने श्रेष्ठले बताउनुभएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेपछि बिहान साँझ छाक टार्न समस्या भएका गरिब, मजदुर परिवारका लागि खाद्यान्न सहयोग समेत गरिरहेको छ । युवा समूहले गत शनिबार १०१ घर परिवारलाई आवश्यक खाद्यान्न वितरण गरेको थियो ।