चैनपुर (राक्सिराङ)ः मकवानपुरको राक्सिराङ गाउँपालिकामा कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको मौज्दात कोषबाट प्राप्त ५० लाख रुपैयाँ बजेटबाट तयार पारिएको २० बेडको कोभिड–१९ अस्पताल सोमबार उद्घाटन गरिएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार कोभिड–१९ अस्पतालको उद्घाटन गर्नुभएको हो । राक्सिराङ गाउँपालिका–५ स्थित ठाडेचुरीमा निर्माण गरिएको कोभिड–१९ अस्पतालका सबै बेडमा अक्सिजन सुविधा छ । गाउँपालिकाले पालिकाको मुकाम चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयमा कोभिड–१९ अस्पताल सञ्चालन गरिरहेको थियो । प्रिफ्याव भवन तयार भएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई अस्पतालमै स्थानान्तरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ ।
अध्यक्ष मल्लले जिल्लाकै दुर्गम गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न कै लागि पहिलो पटक पालिकाले मेडिकल अधिकृत नियुक्त गरेको पनि जानकारी दिनुभयो । पालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको जानकारी गराउनुहुँदै पालिकामा प्रतिवद्ध स्वास्थ्यकर्मीहरु रहेकोले राक्सिराङ गाउँपालिकाको स्वास्थ्य सेवामा उल्लेख्य सुधार भएको दावी समेत गर्नुभयो ।
कोभिड–१९ अस्पतालको उद्घाटनपछि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को महामारीबाट बच्न र बचाउन सवैजना सकारात्मक भएर, सतर्क भएर जुट्नुपर्ने बताउनुभयो । मौज्दात कोषको रकमको सदुपयोग गरेकोमा गाउँपालिकालाई धन्यवाद भन्नुहुँदै प्रमुख खुलालले स्थानीयको जनजीवनमा सकारात्मक परिवर्तनका लागि पालिकाले योजनावद्ध रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो । राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीका हरिबहादुर प्रजाले स्वास्थ्य चौकी भवन निर्माण गर्नका लागि १ बिगाहा जमिन दान गर्नुभएको थियो ।
कोभिड–१९ अस्पताल उद्घाटन कार्यक्रममा राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङ, जग्गादाता हरिबहादुर प्रजा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारी, स्वास्थ्य संयोजक विजय कापरी, मेडिकल अधिकृत धनबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो ।