हेटौंडाः हेटौंडा भेट्रान्स क्लबले लायन्स लियो कोभिड इमर्जेन्सी फण्डमा अक्सिजन खरिदका लागि रकम सहयोग गरेको छ । भेट्रान्सका सदस्य कबिन सांगामीको संयोजनमा कोभिड फण्डलाई ४० हजार नगद सहयोग गरेको हो ।
शनिबार बिहान एक औपचारिक कार्यक्रम गर्दै भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले सहयोग रकमको चेक लायन्स इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीलाई हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्नुहुँदै क्लबका उपाध्यक्ष बज्राचार्यले भेट्रान्स क्लबले आगामी दिनहरुमा पनि मानवीय सेवा र समाजसेवाको क्षेत्रमा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहयोग रकम ग्रहण गर्नुहुँदै गभर्नर नकर्मीले भेट्रान्स क्लबलाई धन्यवाद दिनुभयो । यस्तै कोभिड अस्पतालमा अक्सिजन र स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको गभर्नर नकर्मीले बताउनुभयो । यसैगरी कोभिड इमर्जेन्सी फण्ड मूल समितिकी संयोजक तथा लायन्स इन्टरनेशन ३२५ बी २ की सचिव टासी डोल्मा तुम्बाहाङ्फेले कोभिड नियन्त्रणमा राज्यबाट भएका काममा सहयोग गर्दै आएको बताउनुभयो । लायन्सले २० वटा सिलिन्डर संकलन गरी आफ्नै खर्चमा बिरामीहरुलाई निशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको सचिव तुम्बाहाङ्फेले बताउनुभयो ।