हेटौंडाः यही जेठ १६ गतेबाट हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि आज मंगलबार हेटौँडा अस्पताल र उद्योग संघ हेटौँडाबिच सम्झौता भएको छ ।
सामजिक विकास मन्त्रालयको रोहबरमा आगामी जेठ १६ गते अर्थात मे ३० तारिख भित्र निर्माण सुरु हुनेगरि सम्झौता भएको हो । सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौँडा अस्पताल सञ्चालन, ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई र उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
मे अन्तिम अर्थात जेठ १६ सम्ममा कन्ट्याक्टरलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०/३० दिनसम्म प्लान्ट जडान भैसक्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । प्लान्टले दैनिक करिब २ सय बेड एचडियु, आईसियुको लागि अक्सिजन सप्लाई गर्नसक्ने उहाँले बताउनुभयो ।
प्लान्ट निर्माण बढिमा १ करोड ३० लाख रुपैँयासम्म सम्पन्न हुने अनुमान संघले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग संघले गर्ने र आर्थिक जोहो भने संघसँग रहेका उद्योगीहरुले गर्ने संघले जानकारी दिएको छ ।
उद्योग संघसँग भएको सम्झौताले कोरोना नियन्त्रणको लागि निकै ठुलो राहात मिल्ने हेटौँडा अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष प्रसाइले बताउनुभयो ।