अञ्जन विष्ट । फाइल तस्वीर ।

हेटौंडाः खुकुरी नेपाल सुपर लिग (एनएसएलमा) मकवानपुरे खेलाडस् अन्जन विष्ट उत्कृष्ट फरवार्ड घोषित भएका छन् । ललितपुर सिटी फुटबल क्लबका मार्की खेलाडी तथा कप्तान अन्जन एनएसएलको पहिलो सिजनको उत्कृष्ट फरवार्ड घोषित भएका हुन् ।

उनले नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन् । राष्ट्रिय फुटबल टिमका सदस्य समेत रहेका अन्जन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका कारण पुरस्कार लिन उनी स्वयम् उपस्थित थिएनन् । अन्जन सम्मिलित ललितपुर भने फाइनलभन्दा १ खेल अगाडी अर्थात इलिमिनेटर राउन्डमा काठमाडौंसँग पराजित हुँदै बाहिरिएको थियो ।

आज शनिबार भएको फाइनल खेलपछि प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर उपाधी विजेता टिम काठमाडौंका मेसौके ओलुमोउ र उत्कृष्ट प्रशिक्षक काठमाडौंकै बालगोपाल महर्जन भए । यस्तै उत्कृष्ट गोलरक्षक उपविजेता टिम धनगढीका किरण कुमार लिम्बु र उत्कृष्ट डिफेन्डर धनगढीकै दिनेश राजवंशी भए । सबैले १/१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगिताको इमर्जिङ खेलाडी काठमाडौंका विश्वास श्रेष्ठ भए । उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको फेयर प्ले टिम भने बुटवल लुम्बिनी फुटबल क्लब घोषित भएको छ ।