हेटौंडाः काठमाडौं रेजर्स फुटबल क्लबले काठमाडौंमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधी जितेको छ । आज शनिबार भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधी हात पारेको हो ।
खेलको २२ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै काठमाडौंलाई जित दिलाउनका लागि निर्णायक गोल बन्यो । धनगढीले अन्तिम समयसम्म निकै प्रयास गरेपनि गोल गर्न सफल हुन नसक्दा उपविजेतामा नै चित्त बुझाएको छ । खेलको इमर्जिङ प्लेयर काठमाडौंका राजन गुरुङ भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै खेलको सुपर प्लेयर काठमाडौंकै तर्फबाट विदेशी खेलाडी फ्लोरेन्ट क्वारा घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उपाधीसँगै काठमाडौंले जारी सिजनमा धनगढीसँग दुई पटक व्यहोर्नु परेको हारको बदलासमेत लिएको छ । काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ भने धनगढीले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । खेलमा पुरस्कार वितरणको कार्यक्रम जारी छ ।