हेटौंडाः बागमती प्रदेशमा आइसियू र भेन्टिलेटरको संख्या बढाइएको छ । ६ दिनको अवधिमा प्रदेशमा ५ सय ३७ आइसियू बेड र २ सय ३९ भेन्टिलेटरेको संख्या बढेको हो । सोमबारसम्म बागमती प्रदेशमा ९५२ आइसियू बेड, ३९९ भेन्टिलेटर र ७५२ हाइ डिपेन्डेन्सी (एचडियू) बेड उपलब्ध छ ।

यसअघि २१ बैशाखसम्म प्रदेशमा ४ सय १५ आइसियू बेड र १६० भेन्टिलेटर उपलब्ध थियो । २२ बैशाखमा ३८ आइसियू बेड र १२० भेन्टिलेटर थपिएसँगै प्रदेशमा ४५३ आइसियू बेड र २८० भेन्टिलेटरको संख्या पु¥याइएको हो । २३ बैशाखमा १७७ आइसियू बेड थपिए भने २७ भेन्टिलेटर थपेर ६३० आइसियू बेड र ३ सय ७ भेन्टिलेटर तयारी अवस्थामा राखिएको थियो ।

सोमबार प्रदेशमा ३२२ आइसियू र ९२ भेन्टिलेटर थप भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताउनुभयो । उहाँले प्रदेशमा ४७ अस्पतालबाट कोभिडको सेवा दिइ रहेपनि सबै अस्पतालमा आइसियू र भेन्टिलेटर संख्या नबढेको बताउनुभयो । यसअघि प्रदेशमा एचडियू बेडको संख्या खुलाइएको थिएन भने सोमबारबाट एचडियू बेडको संख्या समेत खुलाइएको छ । अझै आइसियू र भेन्टिलेटरेको संख्या बढ्ने उहाँले बताउनुभयो ।

अहिले बागमती प्रदेशमा ५० हजार संक्रिय संक्रमित छन् । १६१९ जनाको कोभिडका कारण मृत्यु भएको छ । ५६० जना आइसियूमा, १ सय ९८ जना भेन्टिलेटर, ३ सय ८७ जना एचडियू बेडमा र ३३५१ जना संस्थागत आइसोलेसनमा उपचारत छन् भने ४६ हजार ३ सय ८१ जना होम आइसोलेसनमा बसेका छन् ।