हेटौंडाः जिल्ला अदालत मकवानपुरले भर्चुअल माध्यमबाट बहस सुरु गरेको छ । कोभिड–१९ संक्रमण जोखिम बढ्दै गएका कारण भौतिक उपस्थितिमा बहस गर्न असहज भएपछि अदालतले भर्चुअल बहस सुरु गरेको हो ।

बिहीबार जिल्ला अदालत मकवानपुरको एक नम्बर इजालसबाट सजाय निर्धारणसम्बन्धी ६ वटा मुद्दामा भर्चुअल बहस भएको छ । जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार अर्जुन घिमिरेका अनुसार प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेकाहरु, बालसुधार गृहमा रहेका कानुनसँग विवादमा परेका बालबालिकाहरु, कारागारमा थुनामा रहेका थुनुवाहरुसँग अनलाइनमार्फत् सुनुवाई गरिएको छ ।
यसअघि पनि २ वटा लागूूऔषधसम्बन्धी मुद्दामा भर्चुअल बहस भएको निमित्त श्रेस्तेदार घिमिरले बताउनुभयो ।

अदालले निषेधाज्ञाका कारण दैनिक सेवाहरु पनि कटौती गरेको छ । निषेधाज्ञा अवधिमा मकवानपुर जिल्ला अदालतले तारेख दिने, बकपत्र गराउने तथा पेशी (सजाय निर्धारण बाहेक) अन्य सेवाहरु स्थगन गरेको छ ।