हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गर्न व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । निषेधाज्ञा सुुरु भएसँगै प्रहरीले बजार क्षेत्र प्रवेश गर्ने नाका चौकीटोल, क्याम्पाडाँडा, कर्रा, थानाभर्याङमा कडाईका साथ चेकजाँच गर्दै आएको छ ।
मंगलबारबाट बजार क्षेत्र प्रवेश गर्ने मुख्य नाकासहित बजार क्षेत्रमा पनि प्रहरीको उपस्थिति बढाएको छ । अनावश्यक रुपमा बाहिर हिँड्डुल गर्नेलाई प्रहरीले फकाईदिएको थियो । बजारका बुद्धचोक, सीमाचोकलगायत क्षेत्रमा पनि प्रहरीको उपस्थिति बाक्लो पारिएको छ ।
यस्तै, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप निर्णयहरु गरेको छ । बिरामीलाई रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी, मकवानपुरले आवश्यकताअनुसार रक्तसंकलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । स्वास्थ्य उपचार प्रयोजनका लागि आवश्यक परेसम्म निर्माण र उद्योग व्यवसायलगायत अन्य प्रयोजनमा अक्सिजन आपूर्ति र प्रयोग गर्न रोक लगाउने निर्णय बैठकले गरेको छ ।
जिल्लाभित्र सञ्चालित राष्ट्रिय जनगणना, २०७८ का सम्पूर्ण गतिविधि तथा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य स्थगन गर्ने निर्णय गरिएको छ । निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरकरूपले सबल एवम् लैंगिक अल्पसंख्यकहरूमाथि हुनसक्ने हिंसा न्यूनीकरण तथा नियन्त्रणमा पूर्वतयारी गर्न प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई निश्चित सवारी साधनहरूको प्रयोग गरी विहान ४ देखि ६ बजेभित्र उद्योग परिसरभित्र प्रवेश गराइसक्ने र साँझ ५ देखि ७ बजेभित्र उद्योग परिसरबाट घर पठाउने व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले बैंक तथा वित्तीय संस्थाहरू आलोपालो विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।