बढ्दै गरेको कोरोना संक्रमण नियन्त्रण गर्न मकवानपुरमा पनि निषेधाज्ञा लागू भएको छ । बैशाख मसान्तसम्म निषेधाज्ञा लागूू हुनेगरी प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरेका हुन् । कोभिड महामारीबाट विश्व नै आक्रान्त छ । नेपालमा पनि यसको प्रभाव तिव्र गतिमा बढ्दै गएको छ । आम नागरिकको जीवन सुरक्षित गर्नु राज्यको पहिलो कर्तव्य हो । यही जिम्मेवारीस्वरुप सरकारले विभिन्न जिल्लामा लकडाउन घोषणा गरेको छ । जिल्लाको परिस्थिति हेरेर निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिइएको छ । यस्तो आदेश जारी गर्दै गर्दा दैनिक ज्यालामजदुरी गर्ने वर्गको अवस्था के हुने र कसरी उनीहरुलाई सहयोग गर्ने भन्ने पक्षबाट पनि छलफल हुन आवश्यक छ ।
मकवानपुर जिल्लाका हेटौंडा, भीमफेदी, थाहा र मनहरीमा लागू हुनेगरी निषेधाज्ञाको आदेश जारी गरिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारीले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकामा पूर्व–पश्चिम राजमार्गको ५ सय मिटर दायाँबायाँको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी भएको छ । अत्यावश्यक उपभोग्य वस्तु खरिद गर्न दिनमा ४ घण्टा समय छुट्याइएको छ । दिनमा ४ घण्टामात्र पसल सञ्चालन हुँदा खरिद गर्न आउनेहरुको भिड बढ्नेतर्फ ध्यान पुग्नुपर्ने देखिन्छ । नत्र त्यही छुट्याइएको समय नै कोभिड संक्रमण वृद्धिको कारण बन्ने खतरा देखिन्छ ।
उपभोग्य सामग्रीसहित औषधी तथा अत्यावश्यक वस्तु खरिद गर्न निस्कन पाइए पनि घरबाट नजिक पर्ने स्थानबाट खरिद गर्नुपर्नेसमेत आदेशमा लेखिएको छ । खाद्य वस्तु बिक्री गर्ने पसल ४ घण्टामात्र खोल्न पाइनेछ भने औषधी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल तथा सवारी मर्मत गर्ने वर्कशप भने नियमित सञ्चालन गर्न पाइने उल्लेख छ । यीबाहेकका सम्पूर्ण व्यवसायहरु बन्द गर्न प्रमुख जिल्ला अधिकारीको आदेश छ । तर खुल्ने सेवाहरु कसका लागि भन्ने प्रश्न छ । जब आम सर्वसाधारणका लागि हिँड्डुलसमेत बन्देज लगाइएको छ भने केही सेवा सुचारु गर्नुको औचित्य पनि नहुन सक्छ । त्यसैले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द हुनु स्वभाविक नै छ ।
गतवर्ष पनि कोभिड महामारीबाट नागरिक जीवन सुरक्षाका लागि भन्दै चार महिना बढी लकडाउन भयो । तर महामारी त फेरि बल्झिएर आएको छ । त्यसैले लकडाउनमात्र समाधान होइन । यसका लागि नागरिक स्वयम्को जिम्मेवारी प्रमुख बन्ने देखिन्छ । मानिसले आफ्ना व्यवहारमा सुधार गर्नुपर्दछ । कोरोना भयावह महामारी हो, तर सधैं डराएर भाग्नु भन्दा योसँगै जीवन धान्ने बानिको विकास गर्नुपर्दछ । गतवर्षको लकडाउनले धेरै मानिसको रोजगारी गुमेको थियो । जसले गर्दा उनीहरुले ऋणको भारी बोक्दै आएका छन् । फेरि यसपटक सुरु भएका निषेधाज्ञा र लकडाउनले दैनिकी चलाउन समस्या हुने नै छ । रोगका साथै भोकले मर्नु पर्ने अवस्था आउन नदिन राज्यका तर्फबाट राहतका कार्यक्रम ल्याउन आवश्यक छ ।