हेटौंडाः हेटौंडा–१ स्थित राप्ती खोलाको किनारमा एउटा छाप्रो बनाएर बसेका व्यक्ति हुन्, ४५ वर्षीया सुष्मा राजथला । राजथला एक प्रतिनिधि पात्रमात्र हुन् । त्यहाँ बासोबास गर्ने सयौंको संख्यामा सुकुम्बासीहरु छन् ।
छाप्रोमा श्रीमान राजेन्द्र राजथला र आफूमात्र बासोबास गर्दै आएको सुष्माले बताइन् । श्रीमानले तरकारी बजारमा तरकारीको भारी बोक्ने काम गर्दै आएको उनले जानकारी दिइन् । लकडाउनअघि राम्रै कमाई भइरहेको भए पनि अहिले भारी बोकेर त्यति कमाइ नभएको उनले बताइन् ।
ससुराले अलिअलि भएको सम्पत्ति सिध्याएको र दाजुभाइ वा अरु कसैले उपभोग गरेको हुनसक्ने सुष्माको भनाइ छ । राजथला दम्पत्ति विगत चार वर्षदेखि उक्त स्थानमा बासोबास गर्दै आएका हुन् । २०५९ सालमा ससुरा बित्नुभएका कारण घरबारविहीन भएको उनले बताइन् ।
सानैमा जहाँ पायो त्यहीँ हिँड्ने, पढ्न नसकेको र सम्झाउने बुझाउने व्यक्ति नभएका करण अहिले यस्तो अवस्था आएको राजेन्द्र राजथलाले जानकारी दिनुभयो । राजेन्द्रसँग दोस्रो विवाह गरेर आएकी सुष्माको अर्को श्रीमानबाट दुई छोरा र दुई छोरी छन् ।
गाडी दुर्घटनाका कारण सुष्माको एउटा आँखा फुटेको छ । दुःखको बेलामा पहिला दुईवटै आँखाबाट आँशु झथ्र्यो, अहिले दुःखमा एउटा आँखाबाट मात्र आँशु झर्ने गरेको उनले बताइन् । दुर्घटनामा पर्नुअघि घरघरमा गएर लुगा धुने काम गर्दै आएकी सुष्माले अहिले केही गर्न नसकेकोमा दुःख लाग्ने गरेको जानकारी दिइन् । केही काम गरौं भने पनि अहिले आँखा दुख्ने समस्या हुने गरेको उनले जानकारी दिइन् ।
‘सुकुम्बासी भएकै कारण खोलाको आसपासको स्थानमा बसेका छौं’, सुष्माले गुनासो गर्दै भनिन्– ‘अब बाढी, पानी, असिना र हुरीबतास आउने समय छ, राति ढुक्कले सुत्न पनि सकिँदैन ।’ सरकारले सात धुर जग्गामा एउटा सुरक्षित बासस्थानको व्यवस्था गरे आफूहरुको कल्याण हुने उनले बताइन् ।
अहिले मानिसहरु विभिन्न कारणले मृत्यु हुने दर बढेको आफूले पनि सुनेकाले आफू पनि मर्न पाए हुन्थ्यो भन्ने सोच कहिलेकाहीँ आउने गरेको बताउँदै उनले भनिन्– ‘केही काम गर्न नसक्नु र गाँस, बास र कपासको अभावमा बाँच्न पनि कठिन हुँदा मानिसले मर्ने कुरा सोच्न बाध्य हुँदोरहेछ ।’