हेटौंडाः हेटौंडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालु आर्थिक वर्षको हालसम्म ६७ मुद्दा फैसला भएको छ । ती मुद्दा मिलापत्रमार्फत् टुंग्याइएको हो ।

चालु आर्थिक वर्षमा समितिमा विभिन्न किसिमका एक सय ३८ मुद्दा परेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका १८ समेत गरी न्यायिक समितिमा एक सय ५६ मुद्दा दर्ता भएका थिए । तीमध्ये ६७ मुद्दा फैसला भइसकेको उपमहानगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना लामाले जानकारी दिनुभयो । फैसला हुन बाँकी मुद्दामध्ये एउटा मुद्दा समितिले सम्बन्धित स्थानीय तहमा पठाएको छ भने तीन वटा मुद्दाको सुनवाईका लागि जिल्ला अदालतमा पठाइएको न्यायिक समितिका कर्मचारी डिल्लीराम पोखरेलले जानकारी दिनुभयो ।

समितिमा दर्ता भएकामध्ये दुई मुद्दा फिर्ता लिइएको छ भने १५ मुद्दामा मेलमिलाप हुन नसकेको र ६५ मुद्दा प्रक्रियामा रहेको छ । उहाँका अनुसार समितिमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा जग्गाको साँध सिमानासम्बन्धी छ । त्यस्तै बाटो, पारिवारिक र ज्यालासम्बन्धी विवादका मुद्दा छन् ।

उपमहानगरपालिकाका ३, १७, १८ र १९ नम्बर वडाबाट समितिमा बढी मुद्दा दर्ता भएको छ । समितिले अर्काको बाली नोक्सान गरेको, चरण, घाँस–दाउरा, ज्याला–मजदुरी नदिएको, नाबालक छोराछोरी वा पतिपत्नीलाई खानलाउन र शिक्षा नदिएको तथा पतिपत्नीबीचको सम्बन्धविच्छेद, गाली वेइज्जती र कुटपिटलगायतका समस्याको फैसला गरेको छ ।