हेटौंडाः मकवानपुरमा सोमबार र मंगलबार दुई दिन बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । जिल्लाका करिब ३५ हजार बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको थियो ।

हेटौंडा उपमहानगरपालिकामा मात्रै झण्डै १४ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिको एक सय ९६ स्थानबाट भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाइएको उहाँले बताउनुभयो । नगरमा ५३ जना स्वयम्सेविका परिचालन गरिएको थियो ।

नगरमा कति बालबालिकालाई भिटामिन खुवाइयो भन्ने तथ्यांक संकलन कार्य भइरहेको उहाँले बताउनुभयो । सोमबार र मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई स्वयम्सेविकाले सम्पर्क गरी भिटामिन ‘ए’ दिने जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिनुभयो ।