मानवसेवा आश्रमको हेटौंडास्थित मुख्यालय ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडाको मानवसेवा आश्रमलाई सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ । जिसस मकवानपुरको ७६औं बोर्ड बैठकबाट सहयोगापेक्षी सडक मानवहरुको उद्दार तथा व्यवस्थापन गर्दै आएको मानवसेवा आश्रमलाई सवारी साधन उपलब्ध गराउने निर्णय गरेको हो ।

जिसस मकवानपुरको पहलमा देशमै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गरिसकिएको सन्दर्भमा सहयोगापेक्षी सडक मानवहरुको उद्दार तथा व्यवस्थापनका लागि मानवसेवा आश्रमलाई सवारी साधनको आवश्यकता रहेकाले बागमती प्रदेश सरकारसँग एक थान सवारी साधन माग गरी उपलव्ध गराउने निर्णय गरिएको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हरेक महिना बस्ने नियमित बोर्ड बैठक अन्तर्गत आइतबार बसेको बैठकले प्रदेश सुशासन केन्द्रको आयोजना तथा जिसस मकवानपुरको व्यवस्थापनमा हुने क्षमता अभिबृद्धि तालिममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । बैठकमा जिसस प्रमुख खुलालले आगामी वैशाख १६ र १७ गते ईन्द्रसरोवरको मार्खुमा आयोजना हुने तालिमका बारेमा जानकारी दिनुहुँदै तालिममा प्रदेशका ५ वटा जिससका पदाधिकारीहरुको सहभागिता रहने समेत जानकारी दिनुभयो ।

बैठकले जिसस मकवानपुरले चालु आर्थिक बर्षमा सञ्चालन गर्ने विभिन्न तालिमहरु यसै महिना भित्रमा सम्पन्न गरिसक्ने तथा केहि कार्यक्रमहरु संशोधनका लागि कार्यालयलाई सहमति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, चित्रबहादुर बलामी, बुद्धिबहादुर मोक्तान, सीता अधिकारी, सानुकान्छी स्याङ्तान, सरिता विश्वकर्मा, समन्वय अधिकारी, आनन्दराज पोखरेललगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो ।