छलफलमा सहभागी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले नगर क्षेत्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षहरुको भेला आयोजना गरेको छ । सोमबार हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाकक्षमा भएको भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुले सामुदायिक विद्यालयको सुधारका लागि सुझाव प्रस्तुत गरेका छन् ।

भेलामा सहभागी हेटौंडा–४, कर्रास्थित श्रमिक माविको व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र कोइरालाले योग्य शिक्षकलाई प्रधानाध्यापक बनाउन नपाएको गुनसो गर्नुभयो । ‘बहालवाला प्रधानाध्यापकले राम्रो काम गर्न सकेन योग्य शिक्षकलाई प्रधानाध्यापक बनाउनु पर्यो भन्दा योग्यलाई प्रधानाध्यापक बनाउन सकिएन’, भेलामा सुझाव राख्नुहुँदै कोइरालाले भन्नुभयो, ‘स्थानीय सरकारले प्रधानाध्यापक व्यवस्थापनमा सहयोग गरेन ।’

हेटौंडा–३, बसामाडीस्थित महेन्द्र किरण माविको व्यवस्थापन समितिका अध्यक्ष पवन पराजुलीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई ५ वर्षको कार्यकालपछि सरुवा गर्ने व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो । स्थानीय बिदाको नाममा विद्यालयमा जथाभावी बिदा दिने गरिएको उल्लेख गर्नुहुँदै उहाँले दाताले भव्य विद्यालय बनाइदिए पनि विद्यालयको नियमित सञ्चालन तथा व्यवस्थापनका लागि विद्यालयलाई बजेट अभाव हुने बताउनुभयो । १२ कक्षासम्म सञ्चालन हुने विद्यालयले मावि तहलाई विहानी सत्र र आधारभूत तहलाई दिवा सत्रमा कक्षा सञ्चालन गरे खर्च कटौति हुने पराजुलीले सुझाव दिनुभयो ।

हेटौंडा–४ स्थित भुटनदेवी माविको व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कँडेलले स्थानीय तहले विद्यालयको अनुगमन गर्नुपर्ने बताउनुभयो । हेटौंडा–८, कमानेस्थित हिमगंगा आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रमेश पौडेलले ६० जना बालबालिका भएको प्रारम्भिक बाल विकास कक्षामा दुइजना सहयोगी कार्यकर्ताको दरबन्दी कट्टा गरी एकजनामात्रै कायम गरिँदा समस्या भएको बताउनुभयो ।

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर बिकले कार्यालय सहायकको तलब न्यून भएको, खाजा कार्यक्रमका लागि प्रतिविद्यार्थी १५ रुपैयाँ पर्याप्त नभएको बताउनुुभयो । विद्यालयमा शिक्षकले पोशाक लगाउन आनाकानी गर्ने गरेको पनि बिकको भनाइ थियो ।

हेटौंडा–६, गौरिटारस्थित बालजागृति युवा बर्ष माविको व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिनाले ग्रेड प्रणालीले विद्यार्थीको शैक्षिक गुणस्तर खस्किएको बताउनुभयो । उहाँले दरबन्दीको अभावमा आधारभूत तहका शिक्षकले मावि तहमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेको र माथिल्लो तहमा पढाएवापत थप सुविधाको अपेक्षा गर्ने भएकोले समस्या भइरहेको उल्लेख गर्नुभयो । हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविको व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पौडेलले शिक्षक सरुवाको कार्यविधि बनाएर काम गर्न सुझाव दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले समुदायको सहभागिता र योगदान रहने गरी सरकारी विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गरिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भूमिकाका बारेमा हेटौंडा उपमहानगरपालिकाकी शिक्षा अधिकृत सरस्वती कोइरालाले जानकारी गराउनुभएको थियो ।