हेटौंडाः पिप्ले युवा क्लबले बिहीबार खेलाडीहरुलाई सम्मान गरेको छ । पाँचौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि विजेता पिप्ले युवा क्लबले बिहीबार वनभोज कार्यक्रमको आयोजना गरी क्लबको तर्फबाट प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गरेको हो ।
सर्लाहीमा सम्पन्न राजर्षि जनक कप रनिङशिल्ड फुटबल प्रतियोगितामा पिप्ले युवा क्लबले पहिलोपटक सहभागिता जनाउँ(दै उपाधि जित्न सफल भएको भन्दै क्लबले खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो । यस्तै क्लबले प्रतियोगिताको समयमा क्लबलाई आवश्यक सहयोग प्रदान गरेका व्यक्तिहरुलाई समेत सम्मान गरेको छ ।
क्लबले पछिल्लो समय खेलकुदका क्षेत्रमा सक्रियरुपमा सहभागिता जनाउँदै आएको छ । क्लबले स्थानीय स्तरमा खेलकुदको विकासमा समेत काम गरिरहेको छ । हेटौंडा–५ पिप्लेमा कभर्ड हल निर्माण सम्पन्न गरेको पिप्ले युवा क्लबले हाल क्याम्पाडाँडा फुटबल मैदान निर्माण कार्य तिब्र पारेको छ ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँले फुटबल मैदान निर्माणका लागि आगामी आर्थिक वर्ष २०७८-०७९ को वडा बजेटमा ५० लाख रुपैयाँ रकम विनियोजन गर्ने घोषणा गर्नुभएको छ । साथै व्यक्तिगतरुपमा समेत ५ लाख सहयोग गर्ने बताउनुभयो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल ‘खुसराज’ले क्लबले निर्माण गरिरहेको फुटबल मैदानमा सहयोग हुने भन्दै १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा मन्तव्य राख्नुहुदैँ कार्यालय प्रमुख दाहालले आफूले कोरोना विमाबाट प्राप्त भएको रकमबाट १० हजार रुपैयाँ क्लबलाई सहयोग गरेको जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष सुशील घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य माधव तिमल्सिना, बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामा, हेटौंडा–५ का जनप्रतिनिधिहरुलगायत विभिन्न संघसंस्थामा प्रतिनिधिहरुको उपस्थिति थियो ।