गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता आज शुक्रबारबाट सञ्चालन गर्ने भएको छ । आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सुरु हुने प्रतियोगिता हेटौंडा–११, थानाभर्‍याङस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको कभर्डहलमा हुने वरिष्ठ प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।

कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा विभिन्न ५ विधालाई समावेश गरिएको छ । १२ वर्ष मुनि उमेर समूहका लागि छात्रा र छात्राको सिंगल तथा १२ वर्ष माथिको उमेर समूहमा छात्रा र छात्रको सिंगल्स तथा छात्रातर्फको डबल्स गरी ५ वटा विधामा प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाअन्तर्गतको विभिन्न सामुदायिक एवम् निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिता जिल्ला व्याडमिन्टन संघ मकवानपुरको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वर्ष उमेरसम्मका विजेताले ७ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै १२ वर्षमाथिका विजेताले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले जनही ७–७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, डबल्समा प्रथमले नगद १० हजार रुपैयाँ, द्वितीयले ७ हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्येबाट उत्कृष्ट ३० जना खेलाडीलाई २ महिनासम्म निःशुल्क प्रशिक्षण प्रदान गरिनेछ ।