हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा स्थानीयहरुले ताला लगाएका छन् । वडाअध्यक्ष नभएको समयमा र वडा सचिव गाउँपालिका गएको मौकामा केही स्थानीयहरुले ताला लगाएको मौखिक जानकारी आएको वडाअध्यक्ष ध्रुव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ४ नम्बर वडा कार्यालय अगाडि वडा कार्यालयको भवन र स्वास्थ्य कार्यालयको भवन बनाउने निर्णय गरेको विरोधमा ताला लगाइएको बुझिएको छ ।
वडाको भवन बनाउन स्थानीय रामहरी विष्टले २ कट्ठा जग्गादान दिनुभएपछि वडा कार्यालयको भवन बनाउनु सुरु गर्ने निर्णय भएको थियो । यसअघि पनि जग्गादाताहरुले जग्गा उपलब्ध गराएपनि वडा कार्यालय भवन सँगैको जग्गामा भवन बनाउने निर्णय गरेकोमा विमत्ति जनाएर कार्यालयमा ताला लगाएको मौखिक जानकारी आएको वडाअध्यक्ष खड्काले बताउनुभयो । बुधबार सार्वजनिक बिदा परेकोले बिहीबार मात्रै यसबारे छलफल हुने उहाँले जानकारी दिनुभयो । कार्यालयमा ताला लगाएसँगै मंगलबार वडाको काम प्रभावित भएको छ ।