हेटौंडाः जिल्लाकै पुरानो विद्यालय हेटौंडा–४ स्थित भुटनदेवी माविको ६२ औं वार्षिकोत्सव तीन दिन विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वार्षिकोत्सवको अवसरमा मंगलबार वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा छात्रवृत्ति वितरण गरिनुका साथै राष्ट्रपति रनिङ सिल्ड नगर तथा जिल्लास्तरीय प्रतियोगितामा पदक जित्न सफल विद्यार्थीलाई नगदसहित पुरस्कृत समेत गरिएको छ । यस्तै वार्षिकोत्सवकै अवसरमा विद्यालयले छात्रा छात्रवृत्ति तथा दलित छात्रवृत्ति पनि वितरण गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका २ सय ४४ छात्रा तथा २३ जना दलित विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले तीन दिन विविध कार्यक्रमको आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको कार्यक्रममा विद्यार्थीबीच हाजिरीजवाफ, वक्तृत्वकला, बादविवाद प्रतियोगिता, गणित दौड लगायतका क्रियाकलाप गरिएको जानकारी गराउनुहुँदै विद्यालय प्रधानाध्यापक माधवप्रसाद दाहालले बुधबार दीपावली गरेर वार्षिकोत्सव मनाउने बताउनुभयो । मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले नृत्य कला समेत प्रस्तुत गरेका थिए । शिक्षा क्षेत्रका गतिविधिलाई सञ्चार माध्यममा प्राथमिकता दिएर समाचार तथा विचार लेखनको कार्य गरेको भन्दै समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई नगदसहित विद्यालयले सम्मान समेत गरेको छ ।
कक्षा १२ सम्म पठनपाठन हुने भुटनदेवी माविमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षातर्फ कक्षा ९–१२ तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको सम्बन्धमा पनि प्राविधिक शिक्षा प्रदान गरिरहेको भुटनदेवी माविले आगामी दिनमा विश्वविद्यालय तहको प्राविधिक शिक्षा पनि सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाले बताउनुभएको छ ।